Snack War Goes Local: बिकाजी–सिजी धमाका, हल्दिराम्सलाई सीधा टक्कर!

बजार

काठमाडौं — भारतीय प्रतिस्पर्धी हल्दिराम्स इण्डिया लिमिटेडले नेपालमा उत्पादन थाल्नुअघि नै अर्को भारतीय कम्पनी बिकाजी फुड्स इन्टरनेशनल लिमिटेडले नेपालमा स्थानीय उत्पादन सुरु गर्ने घोषणा गरेको छ। कम्पनीले नेपालकै चाैधरी समूह (सिजी कर्प ग्लोबल)सँग ५०–५० प्रतिशत स्वामित्वमा संयुक्त लगानी गर्ने सम्झौता गरेको हो।

बिहीबार सार्वजनिक साझेदारी अनुसार, संयुक्त उद्यममार्फत नेपालमै खाजा (स्न्याक्स), भुजिया, नमकीन, पापड तथा प्याक गरिएको मिठाइ उत्पादन र बिक्री गरिनेछ। चाँडै नै नेपालमै उद्योग स्थापनाको तयारी भइरहेको जानकारी दिइएको छ।

भारतीय मिडियाका अनुसार, बिकाजी फुड्स इन्टरनेशनल लिमिटेडको सञ्चालक समितिले बुधबार नेशनल स्टक एक्सचेञ्ज (NSE) मा नेपालको साझेदारीबारे स्वीकृति प्रदान गरेको थियो।

साझेदारीपछि सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले भने, “यो सहकार्यले स्थानीय क्षमताको विकास र खाद्य नवप्रवर्तनमा नेपाललाई विश्वस्तरीय गन्तव्य बनाउने हाम्रो प्रतिबद्धता पुनः पुष्टि गर्छ।”

बिकाजी फुड्सका प्रबन्ध निर्देशक दीपक अग्रवालका अनुसार, “यो संयुक्त उद्यमले हाम्रो अन्तर्राष्ट्रिय विस्तारमा नयाँ उचाइ थप्नेछ र नेपाललाई रणनीतिक बजारका रूपमा स्थापित गर्नेछ।”

नेपालको फास्ट–मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी) क्षेत्रमा तीव्र वृद्धिको पृष्ठभूमिमा यो साझेदारी भएको हो। लगानी बोर्ड नेपालका अनुसार, ३ करोडको जनसंख्या र तीव्र शहरीकरणसँगै नेपालको एफएमसीजी बजार वार्षिक २० प्रतिशतले वृद्धि भई १ अर्ब अमेरिकी डलरभन्दा माथि पुग्ने अनुमान छ।

यो साझेदारी मुख्य प्रतिस्पर्धी हल्दिराम्स इण्डिया लिमिटेडले वीरगञ्जमा उत्पादन सुरु गर्ने तयारीपछि थप सशक्त बनेको हो। बजारमा मूल्य प्रतिस्पर्धा तीव्र बनेपछि बिकाजीले नेपाली बजारमा बलियो उपस्थितिका लागि सिजी समूहसँग सहकार्य रोजेको हो।

उल्लेखनीय छ, हल्दिराम्सका उत्पादनहरू नेपालमा डिभी ग्रुपले आयात गर्दै आएको छ, जसका अध्यक्ष विश्वनाथ प्रसाद साह रहेका छन्।