काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षण (Asset Quality Review – AQR) का लागि बंगलादेशको अडिट कम्पनी Howladar Yunus & Co. CHARTERED ACCOUNTANTS लाई छनोट गरेको छ।
राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३८ को उपदफा २ बमोजिम उक्त कम्पनीलाई प्राविधिक मूल्यांकनबाट योग्य ठहर गरी ६२ लाख ५४ हजार ९१२ रुपैयाँमा सम्झौता गर्ने निर्णय गरेको हो। अडिटका लागि आर्थिक प्रस्ताव खोल्ने कार्य पनि यही छनोटपछि गरिएको हो।
आर्थिक वर्ष २०८१ पुसमा राष्ट्र बैंकले आवेदन आह्वान गरेपछि प्रतिस्पर्धामा छ कम्पनी सहभागी भएका थिए। तर, प्राविधिक प्रस्ताव मूल्यांकनमा हउलादार युनुस एण्ड कम्पनी मात्रै योग्य ठहरिएको थियो।

छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी कम्पनी मेहरा जेकेएसएस एसएसबीडीआईको तर्फबाट एस. सुवेदी एण्ड एसोसिएट्सका सञ्चालक सतिश सुवेदीले राष्ट्र बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसपछि राष्ट्र बैंकले आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया रोकिएको थियो।
तर, सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले असार ९ गते अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि राष्ट्र बैंकले अडिट प्रक्रिया अघि बढाउन बाटो खुलेको हो।
