जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागका अनुसार कोशी, बागमती, गण्डकी प्रदेश तथा अन्य पहाडी भू-भागहरूमा विशेष सतर्कता आवश्यक छ।
यही सन्दर्भमा, प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत नागरिकहरूलाई सावधानी अपनाउन अपील गरेका छन्। उनले लेखेका छन्, “मौसम विज्ञान विभागले देशका विभिन्न स्थानहरूमा भारी वर्षाको सम्भावना औंल्याएको छ। यस्तो अवस्थामा, सुरक्षा निकायले जारी गरेका सूचनाहरूको पालना गरौँ। अत्यावश्यक नपरे लामो यात्रा नगर्नुहोस् र सुरक्षित स्थानमै रहनुहोस्।”
प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई पनि आवश्यक तयारीका साथ सतर्क रहन निर्देशन दिएका छन्।

वर्षासँगै बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को सम्भावना बढ्ने भएकाले नागरिकहरूलाई सचेत रहन विभाग र सरकार दुवैको आग्रह छ।

