काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै अधिकांश वाणिज्य बैंकहरूले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। साउन १ गतेदेखि लागू हुने नयाँ दरअनुसार व्यक्तिगत निक्षेपमा ब्याजदर औसत ०.२६ प्रतिशतले घटेर ५.७ प्रतिशतमा झरेको छ भने संस्थागत निक्षेपमा पनि यस्तै अनुपातमा घटेर ४.११ प्रतिशत कायम भएको छ।
ब्याजदरमा आएको यो गिरावटसँगै कर्जातर्फको ब्याज पनि स्वतः घट्ने अनुमान गरिएको छ।
ब्याजदर घटाउने बैंकहरू

साउनमा ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, र एनआईसी एशिया बैंक रहेका छन्।
नेपाल बैंकले व्यक्तिगत निक्षेपमा ०.०५% घटाएर ५.४०% र संस्थागतमा ०.२५% घटाएर ३.७५% ब्याजदर तोकेको छ।
कुमारी बैंकले व्यक्तिगततर्फ ०.१०% घटाएर ५.६१% र संस्थागततर्फ ०.४०% घटाएर ४.०१% बनाएको छ।
नेपाल एसबीआई बैंकले ०.१५% घटाएर व्यक्तिगततर्फ ५.३५% र संस्थागततर्फ ४.३५% ब्याज दिनेछ।
लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ब्याज ०.२५% घटाएर ५.५०% कायम गरेको छ, तर संस्थागततर्फ ब्याजदर यथावत राखेको छ।
कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ०.०५% घटाएर ५.४०% र संस्थागतमा ०.९५% घटाएर ३.५०% ब्याज प्रदान गर्नेछ।
ब्याजदर स्थिर राख्ने तथा बढाउने बैंकहरू
यता, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, र सिद्धार्थ बैंकले ब्याजदर यथावत राखेका छन्।
तर, हिमालयन बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ब्याजदर बढाएका छन्।
हिमालयन बैंकले व्यक्तिगततर्फ ब्याजदर ०.५०% बढाएर ६% र संस्थागततर्फ १% बढाएर ५% पुर्याएको छ।
स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ ब्याजदर ०.०१% बढाएर ६.२६% बनाएको छ, संस्थागत दर भने अपरिवर्तित छ।
एभरेष्ट बैंकले भने उल्टो धार समात्दै ब्याजदर ०.३०% वृद्धि गर्दै व्यक्तिगततर्फ ६.२% र संस्थागततर्फ ५.२५% पुर्याएको छ।
