काठमाडौं । अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबीच जारी युद्ध अब अन्त्यको चरणमा पुगेको दाबी गरेका छन् । उनले दुबै पक्षबीच २४ घण्टाभित्र पूर्ण युद्धविरामको सहमति भएको भन्दै सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
ट्रम्पले पोस्ट गर्दै भनेका छन्, “सबैलाई बधाई! इजरायल र इरानबीच १२ घण्टाका लागि पूर्ण युद्धविरामको सहमति भएको छ।”


उनको भनाइअनुसार, पहिलो १२ घण्टा इरानले युद्धविराम सुरु गर्नेछ भने त्यसपछि इजरायलले त्यसलाई निरन्तरता दिनेछ। २४ घण्टापछि, १२ दिनसम्म चलेको युद्धको औपचारिक अन्त्य हुनेछ र विश्वले शान्तिको स्वागत गर्नेछ।
पूर्वराष्ट्रपति ट्रम्पले यो युद्ध दीर्घकालसम्म चल्न सक्ने र सम्पूर्ण मध्यपूर्वलाई विनाशको दिशामा लैजान सक्ने अवस्था रहेको जनाउँदै, यस्तो भयावह अवस्था टरेकोमा दुबै देशलाई “सहनशीलता, साहस र बुद्धिमत्ता” देखाएको भन्दै प्रशंसा गरेका छन्।
हालसम्म इजरायल वा इरानका आधिकारिक निकायबाट ट्रम्पको दाबीको औपचारिक पुष्टि भने आएको छैन। यद्यपि, यदि सहमति लागू भएमा यसले मध्यपूर्वमा फैलिरहेको तनावलाई ठूलो राहत दिने विश्वास गरिएको छ।

