लक्ष्मी बैंक सँग मर्जरमा गएको सनराइज बैंकका तत्कालीन सीईओसहित १३ जनाविरुद्ध १८ करोडको भ्रष्टाचार मुद्दा 

अर्थ समाचार

काठमाडौं – पतञ्जली जग्गा हिनामिना प्रकरणमा सनराइज बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित १३ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले सनराइज बैंकका तत्कालीन सीईओ किशोर कुमार महर्जन, सहायक महाप्रबन्धक निता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीव सापकोटा र अधिकृत ममता पराजुलीलाई मुख्य अभियुक्तको रूपमा दोषी ठहर गर्दै उनीहरूलाई मुख्य कसूरदार सरह सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

त्यस्तै, बैंकका अन्य कर्मचारीहरू — जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उपप्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोइराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभाग प्रमुख सञ्जय कुमार सिद्धि, अनुपालन विभागका सुनिल रत्न स्थापित र नायव महाप्रबन्धक बलराम विष्ट विरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियारका अनुसार, आरोपितहरूले आपसी मिलेमतो र योजनाबद्ध तरिकाले आफूलाई लाभ र सरकारलाई हानि पुर्याउने बदनियतसाथ, पतञ्जली समूहसम्बन्धी हदभन्दा बढीको जग्गा बैंकको नाममा धितो लिई ऋण प्रवाह गरेका थिए। धितो लेख पारित गर्दा कानुनी सीमा नाघिएको, जोखिम मूल्याङ्कनमा लापरवाही गरिएको, र नियमनकारी निकायको मापदण्ड उल्लंघन गरिएको अख्तियारको ठहर छ।

आयोगले सबै प्रतिवादीमाथि सरकारी सम्पत्तिमा हानि पुर्याउने गरी दुरुपयोग गरेको आरोप लगाउँदै भ्रष्टाचार निवारण ऐनअनुसार सजाय माग गरेको छ।