“६ वर्ष, ६ जीवन, ६ चिहान — ‘रगत सबको रातै हो, सेतो हुने कुन छ ?’

विविध समाचार समाज

काठमाडौं । छ वर्ष पहिले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा नवराज विकसहित ६ जनाको अमानवीय हत्या भएको दिनलाई सम्झँदै, काठमाडौंमा भावुक प्रदर्शन सम्पन्न भएको छ। न्यायको आस बोकेका दर्जनौं अनुहारहरूले माइतीघरमा भेला भई पीडाको आवाजलाई फेरि एकपटक बुलन्द पारे।

सभाको वातावरण त्यतिखेर झन् मार्मिक बन्यो, जब चर्चित सांरगीवादक तथा गायक हेमन्त कान्छ रसाइलीले ‘रगत सबको रातै हो, सेतो हुने कुन छ?’ भन्ने गहिरो पीडाले भरिएको गीत प्रस्तुत गरे। उनकी सांरगीको तारमा समातिएको पीडाले थामिनसक्नु भएर सहभागीहरूको आँखाबाट आँसु बगिरहेका थिए।

२०७७ सालको १० जेठको त्यो कालो साँझ, जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न केही साथीहरूका साथ सोतीगाउँ पुगेका थिए। तर जातीय पूर्वाग्रहले अन्धा बनेका समाजका मानिसहरूले नवराजसहित छ जना युवाको निर्दय हत्या गरे। त्यो रात नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम नेपाली कहिल्यै नफर्कने गरी हिंसाको सिकार भए।

घटनालगत्तै सुरु भएको कानुनी लडाइँले केही दोषीहरूलाई जन्मकैद सजाय सुनाए पनि, उच्च अदालत सुर्खेतको फैसलाले घटनामा जातीय घृणाको पुष्टि नगर्दा पीडित परिवार र दलित समुदाय अझ गहिरो अन्यायमा परेको महसुस गरिरहेका छन्।

‘दलितका लागि दलित’ अभियानका अगुवा खगेन्द्र सुनारले बारम्बार यो मुद्दा केवल हत्या होइन, यो समाजको गहिरो संरचनात्मक विभेदको प्रतिबिम्ब भएको बताउँदै आएका छन्। उनका अनुसार अदालतको फैसला पनि स्वयं अन्यायपूर्ण छ।

पछिल्लो केही वर्षयता माइतीघर मण्डलामा ‘न्याय नपाएसम्म’को आवाज मुनि निरन्तर धर्ना, प्रदर्शन र चेतना जगाउने कार्यक्रमहरू भइरहेका छन्। नवराजहरूको रगतले उठाएको प्रश्न अझै अनुत्तरित छ— “के हाम्रो रगत सेतो थिएन?”