“Hidden Guns, Deadly Roads: ट्राफिक चेकिङ कि मृत्युको जाल?”

अपराध तथा सुरक्षा विविध समाचार

काठमाडौं । राजधानी उपत्यकामा ट्राफिक प्रहरीको ‘लुकीछिपी’ अभियान फेरि सुरु भएको छ। स्पिड लेजर गन बोकेका प्रहरीहरू सडकको कुनाकाप्चामा लुकेर ‘सिकार’ ताक्दैछन्, र त्यसैको परिणाम स्वरूप मृत्युको चङ्गुल फेरि सडकमा मडारिन थालेको छ।

२०८१ साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ओखलढुङ्गाका उत्तम कोइरालाको ज्यान गएको दर्दनाक घटना अझै ताजा छ। त्यही **‘स्पिड चेकिङ’**कै क्रममा भएको यो दुर्घटनाले प्रहरीले आफ्नो तरिका परिवर्तन गर्छ भन्ने अपेक्षा थियो, तर फेरि पनि प्रहरी उही शैलीमा, उही ‘जाल’ लिएर सडकमा उत्रिएको देखिएको छ।

विशेषगरी भक्तपुर क्षेत्र वरपर, अवैज्ञानिक र अव्यवहारिक ट्राफिक चेकिङका कारण दुर्घटनाहरूको संख्या दिनानुदिन बढ्दो छ। शनिबार काठमाडौंको ग्वार्को–वालकुमारी क्षेत्रमा फेरि त्यही स्पिड गनको आतंक देखिएको थियो।

साँघुरो सडक, अस्तव्यस्त ट्राफिक र चालकमा चेतनाको अभाव यसअघि पनि दुर्घटनाको कारण ठहरिँदै आएका थिए। अब त झन् प्रहरीको गुपचुप चेकजाँचले ज्यानै लिने स्थितिमा पु¥याएको छ।

‘जिम्मेवारी त पुरा गर, तर लुकेर मान्छे मर्न दिने अधिकार कसले दियो?’ काठमाडौं जोरपाटीका स्थानीय बासिन्दा दिनेश बाँस्कोटा आक्रोशित देखिए। उनी भन्छन्, ‘सडकमा लुकेर बस्ने प्रहरी दुर्घटनाको जिम्मेवार हुन सक्दैन भन्ने हो भने फेरि कुन नियतले चेकजाँच गरेको?’

उत्तम कोइरालाको मृत्युपछि उठेको चर्को जनदबाबले प्रहरी र प्रशासनलाई छानबिन समितिसमेत बनाउन बाध्य पारेको थियो। केही समय चेकजाँच रोकिएजस्तो देखिएको भए पनि, फेरि पनि उही ‘पुरानै धङधले’ फिर्ता भएको तस्बिर प्रष्ट देखिन्छ।

सडकमा जुनसुकै बेला, जुनसुकै ठाउँमा, जुनसुकै तरिकाले हुने ट्राफिक चेकिङ — त्यो पनि लुकीलुकी — अब दुर्घटनाको अर्को नाम बनिरहेको छ।

विश्वमा ट्राफिक प्रणाली स्मार्ट बन्दैछ, आर्टिफिसियल इन्टेलिजेन्स र डिजिटल निगरानीमार्फत दुर्घटना न्यून हुँदैछ। तर नेपालमा? अझै पनि परम्परागत, जोखिमपूर्ण र अप्रत्याशित ट्राफिक चेकिङको प्रयोग भइरहेकै छ।

प्रहरी लुकेर बस्न सक्छ, मृत्यु चाहिँ लुकेर आउँदैन!