एजेन्सी – अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि भएको छ। ८२ वर्षीय बाइडेनले पिसाबमा समस्या देखिएपछि गत साता चिकित्सकसँग परामर्श गरेका थिए। त्यसपछि गरिएको परीक्षणमा प्रोस्टेटमा गाँठो फेला परेको थियो।
शुक्रबार बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पुष्टि गरिएको र क्यान्सरका कोषहरू हड्डीसम्म फैलिएको चिकित्सकहरूले बताएका छन्। बाइडेनको कार्यालयले विज्ञप्तिमा जनाएको छ कि उनलाई ‘ग्लीसन स्कोर ९ (ग्रेड समूह ५)’ सहितको आक्रामक प्रकृतिको क्यान्सर भएको हो।
यद्यपि क्यान्सर ‘हर्मोन-संवेदनशील’ भएकोले यसको प्रभावकारी उपचार सम्भव हुने चिकित्सकहरूको भनाइ छ। बाइडेन र उनको परिवार हाल उपचारका विकल्पहरूबारे चिकित्सकहरूसँग छलफल गरिरहेको जनाइएको छ।

यो खबर प्रकाशित भएपछि दुवै राजनीतिक दलका नेताहरूले पूर्वराष्ट्रपतिलाई सान्त्वना दिएका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको खबरले आफू दुःखी भएको बताएका छन् । उनले भनेका छन्, ‘हामी उनको परिवारप्रति आफ्नो न्यानो माया र शुभकामना पठाउँछौँ । हामी जोको छिटो र सफल स्वास्थ्य लाभको कामना गर्छौं ।’
बाइडेनको उपराष्ट्रपति रहेकी कमला ह्यारिसले सामाजिक संजाल एक्समा पोष्ट गर्दै उनी र उनका पति डग एमहफ बाइडेन परिवारको साथ रहेको बताएकी छिन् ।
ह्यारिसले भनिन्, ‘जो एक योद्धा हुन् र मलाई थाहा छ कि उनले आफ्नो जीवन र नेतृत्वमा देखाएको त्यही बल, सहनशीलता र आशासँग यो चुनौतीलाई सामना गर्नेछन् ।’
बाइडेनलाई क्यान्सर भएको खबर पूर्वराष्ट्रपतिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ताका कारण सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनबाट आफ्नो उमेदवारी फिर्ता लिन बाध्य भएको लगभग एक वर्ष पछि आएको हो । उनी अमेरिकी इतिहासमा सबैभन्दा अधिक उमेरमा राष्ट्रपति बनेका व्यक्ति हुन् ।

