काठमाडौं । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ आजदेखि काठमाडौंमा सुरू हुँदैछ। जलवायु परिवर्तन र पर्वतीय पारिस्थितिक प्रणालीमा त्यसले पारिरहेको प्रभावबारे विश्व समुदायलाई सचेत गराउने र समाधान खोज्ने उद्देश्यका साथ संवाद आयोजना गरिएको हो। कार्यक्रम जेठ ४ गतेसम्म सञ्चालन हुनेछ।
यस वर्षको संवादको मूल नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ तय गरिएको छ।
परराष्ट्र मन्त्री तथा संवाद व्यवस्थापन समितिका संयोजक डा. आरजु राणा देउवाका अनुसार, सम्मेलनमा १७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै सङ्ख्यामा नेपाली प्रतिनिधिहरू सहभागी हुनेछन्। १२ देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुनेछन्, जसमध्ये भारत, चीन लगायतका विशिष्ट अतिथि नेपाल आइसकेका छन्, अन्य देशका पाहुना आउने क्रम जारी छ।

संवादको उद्घाटन समारोहमा भारत र चीनका विशिष्ट प्रतिनिधि र कोप–२९ अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ। साथै, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भिडियो सन्देश पनि प्रस्तुत गरिनेछ। उद्घाटनपछि प्लेनरी सेसन सञ्चालन हुनेछ, जहाँ सहभागी सबै देश तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय संस्थाहरूले आ–आफ्ना विचार प्रस्तुत गर्नेछन्।
संवाद अवधिभर विभिन्न विषयमा समानान्तर सत्रहरू सञ्चालन हुनेछन्। यी सत्रहरूमा राजनीतिज्ञ, नीति निर्माता, विज्ञ, शोधकर्ता र नागरिक समाजका प्रतिनिधिहरूले जलवायु परिवर्तन र पर्वतीय चुनौतीका बारेमा गहन छलफल गर्नेछन्। सबै सत्रहरू शनिबार साँझ ४:३० बजेसम्म सम्पन्न हुने कार्यतालिका रहेको छ।
सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंक लगायतका विकास साझेदार संस्था, विश्वविद्यालय, अनुसन्धान केन्द्र, गैरसरकारी संस्था तथा ६१ अन्तर्राष्ट्रिय र स्वदेशी संस्थाहरूले सहभागिता जनाउनेछन्।
संवादको समग्र व्यवस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयोजक र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी सहसंयोजक रहने गरी व्यवस्थापन समिति गठन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय, र वन मन्त्रालयका सहसचिव डा. महेश्वर ढकाल सदस्यसचिव रहेका छन्।
संवादको अन्तिम दिन विदेशी पाहुनालाई पर्वतीय उडानमार्फत हिमाल देखाउने व्यवस्था गरिएको छ। त्यसै दिन संवादको ‘काठमाडौं घोषणा’ पनि सार्वजनिक गरिनेछ।
नेपालले जलवायु संरक्षणमा गरेका असल अभ्यासहरू विश्वसमक्ष प्रस्तुत गर्न तथा अन्तर्राष्ट्रिय स्तरमा सिकाइ र सहकार्य विस्तार गर्न संवाद उपयोगी हुने विश्वास गरिएको छ। यसै सन्दर्भमा, सन् २०२५ लाई ‘अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष’ को रूपमा संयुक्त राष्ट्रसङ्घले घोषणा गरिसकेकाले हिमालसम्बन्धी मुद्दाहरू विशेष जोडका साथ उठाइनेछन्।
सगरमाथा संवाद दुई वर्षमा एकपटक आयोजना गरिनेछ। विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट प्रेरित यस संवादले जलवायु, पर्वतीय पारिस्थितिकी र मानवताको साझा भविष्यबारे विश्वव्यापी बहस र सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
