काठमाडौँ । अब भारतको प्रसिद्ध अपोलो अस्पतालमा उपचार गराउँदा नबिल बैंकका सेवाग्राहीलाई विशेष छुट मिल्ने भएको छ। नबिल बैंक लिमिटेड र अपोलो अस्पतालको आधिकारिक प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच हालै भएको समझदारीपछि यस्तो सहुलियत सम्भव भएको हो।
समझदारीअनुसार नबिलका ग्राहक, कर्मचारी तथा शेयरधनीहरूले भारतस्थित अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्मको छुटका साथै विशेषज्ञ चिकित्सकसँग परामर्श, उपचारका लागि पूर्वतयारी, चिकित्सक छनोट र यात्राको व्यवस्थापनसम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन्।
नबिल बैंकका प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका प्रबन्ध निर्देशक (कानून) सुशीलकुमार चापागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सुवेदीका अनुसार “भारतका अस्पतालमा उपचार गराउन जाने नेपालीको संख्या उल्लेख्य छ। अपोलोजस्तो विश्वस्तरीय अस्पतालसँगको सहकार्यले हाम्रा ग्राहकलाई सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवा सुलभ बनाउनेछ।”
नबिल बैंकका ग्राहकहरूले छुट प्राप्त गर्न बैंकका डेबिट/क्रेडिट कार्ड, नबिल क्यूआर, नबिल स्मार्ट मोबाइल एप वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्नुपर्नेछ। यो सहमति दुई वर्षसम्म लागू हुनेछ।
काठमाडौँमै सेवा केन्द्र
अपोलो इन्फर्मेसन सेन्टरले काठमाडौँको नक्सालस्थित कार्यालयमार्फत नेपाली बिरामीलाई पूर्वपरामर्श, कागजी प्रक्रिया र उपचार व्यवस्थापन सेवा दिँदै आएको छ।
नबिल बैंक हाल देशभर २६८ शाखा र ३२० एटिएममार्फत २४ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा दिँदै आएको छ। बैंकले यस्ता सामाजिक उत्तरदायित्व मूलक साझेदारीमार्फत ग्राहकसँगको सम्बन्ध अझ बलियो बनाउने विश्वास लिएको छ।
