अविरल वर्षाले नारायणघाट–बुटवल सडक र कान्तिलोकपथ अवरुद्ध

अपराध तथा सुरक्षा विविध समाचार

काठमाडौं । गए रातिदेखि लगातार परेको वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार सडक विस्तार भइरहेको उक्त खण्डमा वर्षाले सतह चिप्लो बनेपछि सवारी साधन चलाउन कठिन भइ सडक बन्द गरिएको हो। उनले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन्।

स्मरण रहोस्, दाउन्ने खण्डमा निर्माण कार्यलाई तीव्रता दिन राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक दैनिक रूपमा बन्द हुँदै आएको छ। तर, गएरातिदेखि परेको लगातार पानीले अवस्थालाई थप जटिल बनाएको छ। अहिले सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो लाइन देखिएको छ।

यसैबीच, अविरल वर्षाले हेटौँडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ पनि अवरुद्ध भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को सीमामा पर्ने बागमती खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा बिहान ६ बजेदेखि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।