भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आज (आइतबार) बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको जनाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षाको सम्पूर्ण तयारी सकिएको छ र परीक्षार्थीहरू निर्धक्क भएर सहभागी हुन सक्नेछन्।
जेठ २ गतेसम्म सञ्चालन हुने यस परीक्षाका लागि देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र तोकिएको छ। सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १६२ वटा रहेका छन् भने मनाङ र मुस्ताङमा एक–एक केन्द्र तोकिएको छ।
परीक्षामा पाँच हजार २०२ विद्यालयका नियमिततर्फ १,९८,८७५ छात्र र १,९७,०१३ छात्रा गरी ३,९५,९०८ परीक्षार्थी तथा आंशिकतर्फ १,१५,६१७ परीक्षार्थी गरी कुल ५,११,५२५ जना सहभागी हुँदैछन्।

परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोबाइल फोन लैजान अनुमति छैन। परीक्षार्थीले मोबाइल, स्मार्ट घडी तथा अन्य विद्युतीय उपकरण (लोड नभएको क्याल्कुलेटर बाहेक) परीक्षा हलमा लैजान पाउने छैनन्। प्रतिबन्धित सामग्रीसहित फेला परेमा शिक्षा ऐन २०२८ को दफा १७ (१ क) ‘च’ अनुसार कारबाही गरिनेछ।
परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा, र उर्दू व्याकरण विषयको परीक्षा सञ्चालन हुनेछ। यस दिन साधारण, परम्परागत र प्राविधिक धारका नियमित तथा आंशिक परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।
