सर्वोच्चमा रेशम एरर! सर्वोच्चका शाखा अधिकृत विष्ट पक्राउ

राजनीति समाचार

रेशम चौधरीसम्बन्धी पक्राऊ पत्र सार्वजनिक भएपछि सर्वोच्च अदालतले उक्त पत्र आधिकारिक नभएको स्पष्ट पारेको छ।

यस अघि  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै डिल्लीबजार कारागारलाई पत्र पठाउने कार्यमा संलग्न देखिएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन्।

प्रहरीले उनलाई सर्वोच्च अदालतको परिसरबाटै नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली लगिएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार, आन्तरिक छानबिनपछि सो पत्र कार्यान्वयन नगर्न निर्देशन दिँदै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको छ।

‘मुद्दा अझै विचाराधीन अवस्थामा रहेको देखिएकाले सो पत्र कार्यान्वयन नगर्न भनिएको हो,’ प्रवक्ता कुइँकेलले भने।

उनका अनुसार, उक्त पत्र कसरी जारी भयो भन्ने विषयमा अदालतले आन्तरिक अध्ययन सुरु गरिसकेको छ।