नेपाल मैदा उद्योग संघको २४औं वार्षिक साधारण सभा वैशाख १२ गते होटल हिल्टन, काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख आतिथ्य उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीज्यू र सभापतित्व संघका अध्यक्ष श्री कुमुद दुगडले गर्नुभएको थियो।
सभाको विशेष अवसरमा नेपाल मैदा उद्योग संघ र भारतको एक प्रख्यात प्रविधि कम्पनी National Cooperative Export Limited (NCEL) बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सम्झौताअनुसार भू-उपग्रह (Satellite) प्रविधिको प्रयोग गरी नेपालको कृषिक्षेत्रको पहिचान, सूचना संकलन, विश्लेषण र परामर्श सेवा प्रदान गरिनेछ। निजी क्षेत्रको अग्रसरतामा भएको यस्तो खालको यो पहिलो सम्झौता हो।

सम्झौताबाट नेपालले प्राप्त गर्ने प्रमुख लाभहरू:

-
कृषि बजार सूचना र विश्लेषण: देशभरका कृषि वस्तुहरूको मूल्य संकलन गरी दैनिक, साप्ताहिक तथा मासिक विश्लेषणमार्फत कृषक र व्यापारीहरूलाई निर्णयमा सहयोग पुर्याइनेछ।
-
कृषि वस्तु अनुसन्धान र परामर्श: उत्पादन, उपभोग, आयात–निर्यात सम्बन्धी विश्लेषणसहित बजार प्रवृत्तिमा आधारित परामर्श सेवा प्रदान गरिनेछ।
-
कृषि निवेश अध्ययन: बीउ, मल तथा अन्य कृषि सामग्रीहरूको प्रयोग र प्रभावमाथि आधारित सुझाव तथा सल्लाह दिइनेछ।
-
डिजिटल कृषि समाधान: एआई आधारित बाली विश्लेषण, व्यक्तिगत परामर्श तथा बजार जडान सेवामार्फत कृषकहरूलाई आधुनिक प्रविधि प्रयोग गर्न प्रेरित गरिनेछ।
-
कृषि समाचार तथा जानकारी: एग्रीवाच प्लेटफर्ममार्फत कृषि सम्वन्धी ताजा समाचार, मूल्यसूची र बजार रिपोर्ट प्रकाशन गरिनेछ।

कार्यक्रमको अर्को विशेष आकर्षण भनेको भारत सरकार अन्तर्गतको National Cooperative Export Limited (NCEL) का प्रबन्ध निर्देशक श्री अनुपम कौशिकको उपस्थिति रहनु थियो। भारत सरकारको पूर्ण अधिकारप्राप्त निकाय NCEL ले नेपालमा गहुँ, चिनी लगायतका कृषि वस्तु निर्यातमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। नेपाल–भारत कृषि सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले उहाँलाई विशेष निमन्त्रणामा सभामा सहभागी गराइएको हो।
सभाका अन्त्यमा नेपालकै पहिलो मैदा उद्योग — खाद्य उद्योग लिमिटेड — र संघका संस्थापक अध्यक्ष श्री रविन्द्र बहादुर श्रेष्ठलाई सम्मान स्वरूप दोसल्ला ओढाएर कदर गरिएको थियो।

