रेमिट्यान्स एक्स्पान्सन मा माछापुछ्रे बैंक: कुवेतमा अल मुजैनी एक्सचेन्जसँग कोल्याब्रेसन

अर्थ बैंक/वित्त समाचार

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ । उक्त सहकार्यको उद्देश्य कुवेतमा रहेका नेपालीहरुले नेपालमा सहज रूपमा रेमिट्यान्स पठाउन सकुन भन्ने रहेको छ । सम्झौतासँगै सेवा सुरु भइसकेको बैंकले जनाएको छ ।

सम्झौता सार्वजनिक गर्ने अवसरमा माछापुछ्रे बैंकले तयार पारेको ‘बैंक कभर गीत’ पनि सार्वजनिक गरिएको थियो । गीतको रचना बैंकका पूर्व सञ्चालक हरिभक्त सिग्देलले गरेका हुन् । गीत सार्वजनिक कार्यक्रम कुवेतस्थित नेपाली राजदूतावासका लागि कार्यबाहक राजदूत सुजनी राणा र बैंक सञ्चालक समितिका अध्यक्ष रोशन के.सी.ले संयुक्त रूपमा गरे ।

सम्झौतापत्रमा माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र अल मुजैनी एक्सचेन्जका महाप्रवन्धक ह्यु फर्नान्डिसले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि कुवेतका १४५ शाखा भएको अल मुजैनी एक्सचेन्जमार्फत पठाइएको रेमिट्यान्स नेपालमा माछापुछ्रे बैंकका १६५ शाखा, ९९ शाखारहित बैंकिङ्ग सेवा, ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिनेछ । साथै, अल मुजैनीमार्फत पठाइएको रकम नेपालका जुनसुकै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था समेत गरिएको छ ।

नवीनतम प्रविधिमा आधारित सेवा विकासमा निरन्तर अग्रसर माछापुछ्रे बैंकले हालसम्म देशभर १६५ शाखा, ९९ शाखारहित सेवा, ११ एक्सटेन्सन काउन्टर र २०४ एटीएममार्फत १७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।