भारतको एक्सिस बैंकको नाफा ७ हजार ११७ करोड, ग्रस एनपीए १.२८% : हामीले पनि सिक्ने की  

अर्थ समाचार

भारतको एक्सिस बैंकले वर्ष २०२४/२५ को चौथो त्रैमास (चैत्र मसान्तसम्म) को नतिजा सार्वजनिक गरेको छ। बैंकले यो अवधिमा ७ हजार ११७ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही समयमा भएको नाफा ७ हजार १२३ करोड रुपैयाँ वरावर हो।

बैंकको मुख्य आम्दानी मानिने ‘नेट इन्टरेस्ट इनकम’ ५.५% ले बढेर १३ हजार ८१० करोड रुपैयाँ पुगेको छ। एक वर्षअघि यो १३ हजार ८९ करोड रुपैयाँ थियो। यसबाहेक, ‘नेट इन्टरेस्ट मार्जिन’ पनि ३.९७% मा पुगेको छ, जुन सुधार मानिन्छ।

बैंकको कोर अपरेटिङ नाफा ११% ले बढेर १० हजार ५७५ करोड रुपैयाँ भएको छ।

बैंकको खराब कर्जा (एनपीए) कम भएको छ। ग्रस एनपीए १.२८% मा झरेको छ भने नेट एनपीए ०.३३% मा आएको छ। यो अघिल्लो त्रैमासको तुलनामा पनि केही घटेको हो।

बैंकले यस त्रैमासमा पुराना नचुकाएका ऋणमध्ये ९३५ करोड रुपैयाँ फिर्ता गर्न सफल भएको छ। तर नयाँ नेट स्लिपेज भने १ हजार ७९ करोड रुपैयाँ पुगेको छ। खुद्रा (रिटेल) तर्फबाट २ हजार २९७ करोड, सीबीजी तर्फबाट ५ करोड र होलसेलतर्फबाट १ हजार २२३ करोड रुपैयाँ बराबरको ऋण नचुकाइको अवस्थामा गएको छ।

मार्च ३१, २०२५ सम्ममा बैंकले कुल खराब कर्जाको ७५% बराबरको रकम सुरक्षित रूपमा राखेको छ, जुन अघिल्लो वर्षको अन्त्यमा ७९% थियो।

बैंकको कुल सम्पत्ति (ब्यालेन्स सिट) १६.०९ लाख करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९% बढी हो। निक्षेप १०% ले बढेको छ र करेन्ट खाता (CA) मा मात्र १६% को वृद्धि भएको छ। कुल CASA डिपोजिटको हिस्सा बढेर ४१% पुगेको छ, जुन अघिल्लो त्रैमासमा ३९% थियो।

एक्सिस बैंकको कुल कर्जा १०.४० लाख करोड रुपैयाँ पुगेको छ। यसमा खुद्रा कर्जाको हिस्सा ६०% रहेको छ, जुन ७% वार्षिक र ३% त्रैमासिक रूपमा बढेको हो। होम लोन १% मात्र बढेको छ भने पर्सनल लोन ८%, क्रेडिट कार्ड कर्जा ४%, साना व्यवसाय ऋण १७% र ग्रामीण क्षेत्रमा लगानी ७% ले बढेको छ। कर्पोरेट कर्जा पनि ८% ले बढेको छ।

एक्सिस बैंकको सञ्चालक समितिले हालको आर्थिक वर्षका लागि प्रति सेयर १ रुपैयाँ लाभांश (डिभिडेन्ड) दिने प्रस्ताव गरेको छ। यो प्रस्ताव वार्षिक साधारणसभाबाट पारित भएपछि लागू हुनेछ।