नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को फाइनान्सियल स्टाबिलिटी रिपोर्ट मा, मुलुकको वित्तीय प्रणाली अहिले पनि ठिकठाक अवस्थामा देखिए पनि केही गम्भीर चुनौतीहरू देखा पर्न थालेको उल्लेख छ। विशेषगरी बैंकहरूको पुँजी पर्याप्तता क्रमशः घट्दै गएको र निष्क्रिय कर्जा (NPL) बढ्दै गएकोले चिन्ता बढेको राष्ट्र बैंकको निष्कर्ष छ।
रिपोर्टअनुसार, २०८०/८१ मा बैंकहरूको निष्क्रिय कर्जा अनुपात ३.८६% पुगेको थियो। तर, २०८१ सालको चैत मसान्तसम्म आइपुग्दा यो दर ५% नाघिसकेको छ। निष्क्रिय कर्जामा यस्तो वृद्धि हुँदा बैंकहरूको मुनाफामा असर परेको छ — ७.२२% ले घटेर मुनाफा ७१.४३ अर्ब रुपैयाँमा सीमित भएको देखिन्छ।
यता, विश्वभरि आर्थिक वृद्धि २०२४ मा ३.२% को दरमा स्थिर देखिएको बेला नेपालले पनि पुनरुत्थानको संकेत देखाएको रिपोर्टमा उल्लेख छ। २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.८७% ले वृद्धि भएको हो, जुन मुख्यतः सेवा क्षेत्र, कृषि र ऊर्जा उत्पादनको विकासबाट सम्भव भएको हो।

मुद्रास्फीतिको कुरा गर्दा, उपभोक्ता मूल्य सूचकांकअनुसार ३.५७% मुद्रास्फीति दर देखिएको छ। यो दर यद्यपि लक्ष्यभन्दा अलिक बढी हो, तर घट्ने क्रममा रहेको सकारात्मक संकेत दिइएको छ। विशेषतः गैर-खाद्य मुद्रास्फीति घट्दा समग्र मुद्रास्फीति नियन्त्रणमा देखिएको हो।
देशको बाह्य क्षेत्रमा पनि सकारात्मक संकेत देखिएको छ। रिपोर्ट अनुसार, विप्रेषण आप्रवाह १६.५% ले बढेको छ, भुक्तानी सन्तुलन सकारात्मक छ, र विदेशी मुद्रा सञ्चिति पनि वृद्धि भएको छ। यी सबैले नेपालको बाह्य अर्थतन्त्रलाई मजबुत बनाएको छ, जुन आर्थिक स्थायित्वका लागि उत्साहजनक खबर हो।
राष्ट्र बैंकले अपनाएको लचिलो मौद्रिक नीतिका कारण वित्तीय प्रणालीमा तरलता कायम रहेको रिपोर्टमा उल्लेख छ। विस्तृत मुद्रा आपूर्ति १३% ले, निजी क्षेत्रको कर्जा ५.८% ले र बैंक तथा वित्तीय संस्थाको जम्मा निक्षेप १३% ले बढेको छ।
डिजिटल भुक्तानी प्रणालीमा पनि उल्लेखनीय वृद्धि भएको छ। रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (RTGS), कनेक्ट आइपीएस, र पोनपे लगायतका डिजिटल प्लेटफर्महरू लोकप्रिय बन्दै गएका छन्। साथै, सबै स्थानीय तहमा बैंकको उपस्थिति सुदृढ भई वित्तीय पहुँच विस्तार भइरहेको छ।
तर, यति सबै सकारात्मक संकेतबीच पनि केही प्रणालीगत जोखिमहरू कायमै छन्। त्यसैले, वित्तीय स्थिरता कायम राख्न नियामक निकायहरू अझै सतर्क भएर काम गर्नुपर्ने राष्ट्र बैंकको सुझाव छ।
