पाँच वर्षे कार्यकालको अन्तिम साता प्रवेश गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल सहज नभएको खुलासा गरेका छन्। शुक्रबार आयोजित समिक्षात्मक कार्यक्रममा उनले राष्ट्र बैंकको स्वायत्तता माथि खुलेआम हस्तक्षेप भएको गुनासो गरे।
“दोस्रो वर्षमै केन्द्रीय बैंकको नेतृत्वमाथि प्रहार सुरु भयो,” गभर्नर अधिकारीले भने, “राष्ट्र बैंकको स्वायत्तता रक्षा गर्नुको साटो त्यसमा सीधा हस्तक्षेप भयो। यस्ता कठिन समयमा पनि बैंकको स्वतन्त्रता जोगाउन सहयोग पुर्याउने सर्वोच्च अदालतलगायत सबैप्रति म आभारी छु।”
गभर्नर अधिकारीले विगत पाँच वर्षलाई “सन्तोषजनक यात्रा” भन्दै आफूले महत्वपूर्ण कामहरू सम्पन्न गरेको दाबी पनि गरे।

नेपाल राष्ट्र बैंकको नेतृत्व सम्हालेका अधिकारीको कार्यकाल यही चैत २४ गते औपचारिक रूपमा टुंगिँदैछ।
