वडाध्यक्ष र कर्मचारीहरूका बलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरे कार्यालय प्रवेश

समाचार

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ करिब चार महिनापछि कार्यालयमा हाजिर भएका छन् ।

महानगरपालिकाका वडाध्यक्ष र कर्मचारीहरूले उनलाई कार्यालय प्रवेश गराएका हुन् ।

गुरागाईँलाई रोक्न कमलादीस्थित महानगरपालिकाको कार्यालयमा महानगर प्रहरी परिचालन गरिएको थियो । तर, जनप्रतिनिधि तथा कर्मचारीले नारा लगाउँदै गुरागाईँलाई कार्यकक्षसम्म पुर्‍याएका हुन् ।

काठमाडौँ टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहले गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउनु भएको थियो ।

मेयर साहले गुरागाईँलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृतको लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार समेत गरेका थिए । जवाफमा मन्त्रालयले गुरागाईँलाई नै निरन्तरता दिन र काम गर्ने वातावरण बनाउन भन्दै महानगरलाई पत्र पठाएको थियो ।