काठमाडौँ, चैत २१, २०८१ – आर्थिक वर्ष २०२४/२५ मा नेपालको अर्थतन्त्र ४.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ, जुन अघिल्लो वर्षको ३.९ प्रतिशतभन्दा बढी हो। विश्व बैंकद्वारा आज सार्वजनिक Nepal Development Update प्रतिवेदनले प्राकृतिक विपत्तिहरू घट्दै जाँदा आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादन वृद्धिले अर्थतन्त्रलाई गति दिने देखाएको छ।
प्रतिवेदनअनुसार, सन् २०२५/२६ र २०२६/२७ मा नेपालको आर्थिक वृद्धिदर औसत ५.४ प्रतिशत रहनेछ, जसमा सेवा क्षेत्रको महत्वपूर्ण योगदान रहने अपेक्षा गरिएको छ।
विश्व बैंकका माल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले भने, “नेपालले रोजगारी सिर्जना गर्न निजी क्षेत्रको अगुवाइमा आर्थिक वृद्धि बढाउनु अत्यावश्यक छ। यसका लागि संरचनागत सुधार कार्यान्वयन गर्नुपर्छ।”

तर, प्रतिवेदनले नेपालको आर्थिक वृद्धिमा जोखिमहरू पनि औंल्याएको छ। भू-राजनीतिक अस्थिरता, लगानीको अपेक्षित प्रतिफल नआउने सम्भावना, वित्तीय क्षेत्रको ऋण गुणस्तर गिरावट, तथा सरकारी नीतिगत असंगति जस्ता कारकहरू चुनौतीपूर्ण हुन सक्ने उल्लेख छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीले भने, “नेपालको १६औं योजनाका लक्ष्यहरू हासिल गर्न प्रभावकारी पूँजीगत बजेट कार्यान्वयन आवश्यक छ। चालु परियोजनाहरू समयमै सम्पन्न गर्न विशेष ध्यान दिनुपर्छ।”
विश्व बैंकको Nepal Development Update वर्षमा दुई पटक प्रकाशित हुने प्रतिवेदन हो, जसले नेपालका प्रमुख आर्थिक घटनाक्रमहरूको विश्लेषण प्रस्तुत गर्छ।
