काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडेलहरू प्रवर्द्धन गर्न एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीका एफआईजी, एशिया तथा प्यासिफिक रिजनल इन्डस्ट्री डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गरेका छन्।
यस सहकार्यअन्तर्गत आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रुपान्तरण, डाटा म्याचुरिटी मूल्यांकन तथा आवश्यक सुधार पहिचान गर्न सहयोग गर्नेछ। साथै, बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्न रणनीतिक सुझाव प्रदान गर्नेछ। आईएफसीले फिनटेकको सम्भाव्यता अध्ययन गरी बैंकलाई एम्बेडेड फाइनान्स मोडेल विकास गर्न सल्लाह दिनेछ।

ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले यस साझेदारीले बैंकलाई नवीन तथा प्रविधिमैत्री सेवाहरू विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले आईएफसीको अन्तर्राष्ट्रिय ज्ञान तथा अनुभवले नेपालमा डिजिटल बैंकिङ र फिनटेकको नयाँ विकासका लागि मार्ग प्रशस्त गर्ने बताए।
ग्लोबल आइएमई बैंक हाल ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड २०२४” तथा “युरो मनी अवार्ड फर एक्सलेन्स २०२४” प्राप्त गरिसकेको छ। ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको यस बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू सञ्चालनमा छन्।
आईएफसी भने विकासशील राष्ट्रहरूमा निजी क्षेत्रको प्रवर्द्धन गर्दै आर्थिक वृद्धिमा योगदान पुर्याउने विश्व बैंक समूहको सदस्य संस्था हो।
