सरकारको गलत निर्णयले असन्तुष्टि बढ्दै : गगन थापा

राजनीति

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको हालैको निर्णयप्रति कडा असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले सरकारको कमजोरीप्रति खरो आलोचना गर्दै भनेका छन्, “आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने, सरकार चाहीँ आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने?”

सरकारले लिएको नीति तथा निर्णयहरूप्रति जनतामा बढ्दै गएको निराशा र आक्रोशलाई सम्बोधन गर्नुपर्ने बेला उल्टै सरकारकै कदमले असन्तुष्टिलाई मलजल गर्ने कार्य भएको उनको तर्क छ। उनले सरकारलाई सचेत गराउँदै भने, “हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने?”

थापाका अनुसार मन्त्रीहरूको निर्णय त्रुटिपूर्ण हुँदै जाँदा प्रधानमन्त्रीले हस्तक्षेप गरी सही बाटोमा ल्याउनुपर्ने हो। तर उनले सरकारको नेतृत्वको कमजोरी औंल्याउँदै भनेका छन्, “मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना, त्यो भएन।”

सरकारलाई चेतावनी दिँदै थापाले गलत निर्णय सच्याउन आग्रह गरे। उनले भने, “निर्णय गलत छ, सरकार! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।”

उनको आलोचना पछिल्लो समय सरकारका नीति तथा कार्यक्रमहरूप्रति नेपाली कांग्रेसभित्रै पनि चर्किंदै गएको असन्तोषको संकेत हो। सरकारको कार्यशैलीप्रति जनस्तरमा गुनासो बढ्दै गइरहेका बेला कांग्रेस नेतृत्वले समेत स्पष्ट रूपमा असहमति जनाउन थालेको छ।

अब प्रश्न उठ्छ, के सरकारले आफ्ना निर्णयहरू पुनर्विचार गर्नेछ? वा पार्टीभित्रैको असन्तुष्टि अझ चर्किंदै जानेछ? नागरिकको चासोको विषय बनेको छ।