जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकस्थित युएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र तथा भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र आसपास दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ।
आज (आइतबार) जिल्ला सुरक्षा समिति, ललितपुरको सिफारिसमा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले निषेधाज्ञा आदेश जारी गरेका हुन्। कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका कार्यालयहरू, अति विशिष्ट व्यक्तिहरूको निवास तथा प्रमुख प्रशासनिक केन्द्रहरू रहेको क्षेत्र भएकाले सम्भावित तोडफोड, आगजनी तथा अन्य अवाञ्छित गतिविधि रोक्न निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) अनुसार २०८१ साल चैत ४ गतेदेखि लागू हुने गरी पाँच जनाभन्दा बढी व्यक्तिको भेला, अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा आयोजना गर्न प्रतिबन्ध लगाइएको आदेशमा उल्लेख गरिएको छ।

निषेधाज्ञा क्षेत्रको सीमा:
-
पुल्चोकस्थित युएन हाउस र पुरानो मन्त्री निवास क्षेत्र
- पूर्व: इनारमोड जाने मूलबाटो
- पश्चिम: राष्ट्रिय कितावखाना (निजामती)
- उत्तर: आन्तरिक राजस्व कार्यालय
- दक्षिण: राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय सहकारी विकास बोर्ड
-
भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र
- पूर्व: भैंसेपाटी–बुंगमती सडक
- पश्चिम: सिजी हाउजिङ्ग
- उत्तर: भैंसेपाटी आवास गेट
- दक्षिण: इटनी जाने ओहालो
निषेधाज्ञा अवधि दुई महिना तोकिएको छ।
