काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सबल देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको माघ मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह बढ्नुका साथै विदेशी मुद्रा सञ्चिती उच्च बिन्दुमा पुगेको छ। चालु खाता र शोधनान्तर स्थिति पनि बचतमा देखिएको छ।
पछिल्लो सात महिनामा नेपालमा रु ९ खर्ब विप्रेषण भित्रिएको छ, जसमा ७.३ प्रतिशत वृद्धि भई रु ९ खर्ब ५८ करोड पुगेको छ। यही अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ।

चालु आवको सात महिनामा चालु खाता रु १ खर्ब ६६ अर्ब ८० करोड बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु १ खर्ब ६२ अर्ब ५२ करोडभन्दा बढी हो। यस अवधिमा खुद पुँजीगत ट्रान्सफर रु ५ अर्ब ८३ करोड तथा प्रत्यक्ष वैदेशिक लगानी रु ७ अर्ब ४५ करोड भित्रिएको छ।
गत माघ मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति रु २ खर्ब ८४ अर्ब ४१ करोड बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु २ खर्ब ९७ अर्ब ७२ करोड थियो। गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड रहेको कूल विदेशी विनिमय सञ्चिति सात महिनामा १६.१ प्रतिशतले वृद्धि भई रु २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ।
नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति १३.९ प्रतिशतले वृद्धि भई रु २१ खर्ब ५ अर्ब १४ करोड पुगेको छ, भने बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ३७.१ प्रतिशतले बढेर रु २ खर्ब ६३ अर्ब ९३ करोड कायम भएको छ।
हाल नेपालसँग रहेको विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ। चालु आवको सात महिनाको आयातलाई आधार मान्दा, बैंकिङ क्षेत्रसँग रहेको सञ्चितिले १७.२ महिनाको वस्तु आयात तथा १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।
