नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

अर्थ समाचार

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई चार वर्षका लागि अध्यक्ष पदमा चयन गरेको हो।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम सिफारिस गरेको थियो। ती प्रतिस्पर्धीलाई पछि पार्दै ओझा अध्यक्ष बनेका हुन्।

सिफारिस समितिले १२ जना आवेदकमध्ये कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझालाई सर्टलिस्ट गरेको थियो। सर्टलिस्टमा परेकालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि फागुन १० गते अर्थ मन्त्रालयमा बोलाइएको थियो।

प्रस्तुतिकरण र अन्तर्वार्तापछि तीन जनाको नाम मन्त्रिपरिषद्मा पठाइएको थियो। अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले गत पुस २६ गते अध्यक्ष नियुक्तिका लागि आवेदन आह्वान गरेको थियो, जसमा १२ जनाले आवेदन दिएका थिए।

गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते तथा भ्रष्टाचार मुद्दामा सूर्यप्रसाद सिलवालविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि बीमा प्राधिकरण अध्यक्षविहीन थियो। सिलवाल निलम्बित भएपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

पूर्वपत्रकार समेत रहेका ओझाको स्थायी घर कञ्चनपुर हो, र उनी हाल ३३ वर्षका छन्।