झापा । क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ।
सम्झौतापत्रमा एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार हस्ताक्षर गरे। यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको छ।
विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल विसं २०७६ फागुन १८ गतेदेखि सञ्चालनमा आएको हो। १०० शय्याको यस अस्पतालमा पेटसिटी, रेडियोथेरापी, केमोथेरापी, सर्जरीलगायत क्यान्सर उपचारका प्रविधि उपलब्ध छन्। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादवका अनुसार निःशुल्क हवाई टिकट सुविधाले क्यान्सर बिरामीलाई सहजता मिल्नेछ। यसले महँगो खर्च गरेर भारत जानुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरिएको छ।
जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार निःशुल्क हवाई टिकट प्राप्त गर्न बिरामीले क्यान्सर सङ्क्रमण प्रमाणित गरी अस्पतालमा उपचार गराइरहेको पुष्टि गर्नुपर्नेछ। यो सुविधा देशका जुनसुकै भागबाट उपचार लिन आउने बिरामीले एकपटक पाउनेछन्। बिरामीले अस्पताल जाने र घर फर्किने दुबै टिकट पाउने व्यवस्था गरिएको छ।
पछिल्लो पाँच वर्षमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा ६,४८४ नयाँ क्यान्सर बिरामीको उपचार भएको छ। चेतनाको कमी र आर्थिक अभावका कारण ग्रामीण तथा दुर्गम क्षेत्रका बिरामी अझै उपचारबाट वञ्चित रहनुपरेको गिरीले बताए। अत्याधुनिक उपकरण र दक्ष चिकित्सक भएको कारण देशभरका साथै विदेशबाट पनि बिरामी उपचारका लागि आउने क्रम बढिरहेको छ।
डा. यादवका अनुसार विगत पाँच वर्षमा स्तन क्यान्सरका ८१४, फोक्सो क्यान्सरका ८०५, पाठेघरको क्यान्सर र नाक, कान, घाँटीको क्यान्सर क्रमशः तेस्रो र चौथो स्थानमा छन्।
मोरङ, रतुवामाई नगरपालिका–५ का टीकाराम शिवाकोटीले निःशुल्क हवाई टिकटको सम्झौताले सेवाग्राहीलाई ठूलो राहत पुगेको बताए। चार महिनादेखि पत्नीको फोक्सो क्यान्सरको उपचार गराइरहेका शिवाकोटीका अनुसार गरिब परिवारका लागि अस्पताल जान–आउन खर्च अभावकै कारण समस्या हुने भएकाले यातायात र उपचारमा सहुलियत आवश्यक छ।
अस्पतालका जनसम्पर्क अधिकृत गिरीका अनुसार असहाय तथा गरिब बिरामीले सरकारको ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम’ अन्तर्गत एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार पाउनेछन्। लुम्बिनी प्रदेश सरकारले विपन्न बिरामीका लागि थप दुई लाख रुपैयाँसम्मको उपचार सहयोग उपलब्ध गराइरहेको छ।



