आज सहिद दिवस, देशभर सार्वजनिक बिदा

विविध समाचार

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइन्छ |

जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक आन्दोलनका क्रममा चार जना सहिदहरुले बलिदान दिएका थिए । शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई तत्कालीन जहाँनीय राणशासनले प्रजातान्त्रिक आन्दोलनमा लाग्दा हत्या गरेको थियो ।

हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ को रुपमा मनाउने गरिन्छ । विक्रम संवत् १९९७ साल माघ १० गते निरंकुश राणा शासनविरुद्ध नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । सहिदहरुले नेपालमा प्रजातन्त्रका लागि लामो संघर्ष गरेपनि प्रजातान्त्रिक व्यवस्थामा पनि जनस्तर सुधारिन सकेको छैन भने सहिदहरुको बलिदानको जगमा प्राप्त भएका उपलब्धीलाई संस्थागत गर्नका लागि राजनीतिक नेतृत्व असफल बन्दै आएको छ ।