राष्ट्रव्यापीरुपमा शहीद दिवस मनाउने सरकारको निर्णय

समाचार

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई पनि सर्कूलर गरी राष्ट्रव्यापी रुपमा सहिद दिवस मनाउने निर्णय गरेको छ ।

सरकारले प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस राष्ट्रव्यापीरुपमा विविध कार्यक्रमगरी मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए ।

उनले भने, ‘भोलि चाँही शहीद सप्ताहको अन्तिम दिन हो । त्यसकारणले शहीद दिवस चाँही भोलि सरकारको तर्फबाट मनाउने काम हुन्छ । पहिला शहीद गेट जान्छौं, प्रधानमन्त्रीज्युसँगै मन्त्रीज्युहरु पनि सहभागी हुनेछन् । त्यहाँ माल्यापर्णसहित श्रद्धाञ्जली अर्पण हुनेछ । त्यसपछि लैनचौर गएर श्रद्धाञ्जली अर्पण हुन्छ,  र  भोली नै हाम्रो भृकृटिमण्डपमा कार्यक्रम हुनेछ ।’

साथै मन्त्रिपरिषद्  बैठकले राष्ट्रपतिबाट जारी भएको अध्यादेश कार्यान्वयनका लागि नियमावली बनाउने निर्णय समेत गरेको छ ।

‘अब १८ गते हिउँदे अधिवेशन प्रारम्भ हुँदैछ । हिउँदे अधिवेशनमा नेपाल सरकारले  सिफारिस गरेर सम्माननीय राष्ट्रपतिज्यूबाट जारी भएको  अध्यादेश संसदमा दर्ता गरिसकेका छौं,’ प्रवक्ता गुरुङले भने, त्यो अध्यादेश फास्ट ट्रयाकबाट हिउँदे अधिवेशनमा पारित गर्ने काम हुन्छ ।  त्यो  अध्यादेश कार्यान्वयनका लागि नियमावली चाँही बनाउने  निर्णयहरु गरेका छौं ।’