राप्रपाले फागुनमा प्रदेश र जिल्ला तह र चैत्रमा काठमाडौंमा विरोध प्रदर्शन गर्ने

काठमाडौंमा बसेको केन्द्रिय कार्य समितिको बैठकले चैत महिनामा काठमाडौं केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले काठमाडौं केन्द्रित कार्यक्रमको स्वरुप पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले तय गर्ने जानकारी दिनुभयो । पार्टीको सदस्यता वितरण अभियानलाई तिब्रता दिने, ०८१ लाई पार्टी प्रवेश वर्षको रुपमा अभियान सञ्चालन गर्ने विगतको निर्णयलाई निरन्तरता दिने र २०८२ वैशाख मसान्तभित्र सबै स्थानीय तह र जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने गरी सक्रिय हुन मातहतका सबै निकायलाई बैठकले निर्देशन दिने निर्णय गरेको बताउनु भयो । केन्द्रिय सदस्यहरुलाई ७७ वटै जिल्लामा हुने जिल्ला अधिवेशनमा पर्यवेक्षकको रुपमा खटाउने र जिल्लामा हुने सबै प्रकारका निर्वाचनको प्रक्रिया र नतिजाको अनुगमन गर्ने जिम्मेवारी दिने निर्णय गरेको बताउनु भयो । समान विचार भएका व्यक्ति, समूह र दलसंग सहकार्य र मोर्चा निर्माण गर्न राप्रपाले संवाद र सहकार्यको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राप्रपाले आफ्ना मुल राजनीतिक एजेण्डा, नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे माग र जनजीविकाका सवालहरुलाई लिएर विरोध सभाका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । यसका लागि फागुन महिनामा प्रदेश र जिल्ला तहमा विरोध प्रदर्शन र जागरण सभा हुनेछ भने चैत महिनामा काठमाडौं केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको छ । काठमाडौं केन्द्रित कार्यक्रमको स्वरुप पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले तय गर्नेछ । पार्टीको सदस्यता वितरण अभियानलाई तिब्रता दिने, ०८१ लाई पार्टी प्रवेश वर्षको रुपमा अभियान सञ्चालन गर्ने विगतको निर्णयलाई निरन्तरता दिने र २०८२ वैशाख मसान्तभित्र सबै स्थानीय तह र जिल्ला अधिवेशनहरु सम्पन्न गर्ने गरी सक्रिय हुन मातहतका सबै निकायलाई बैठकले निर्देश गरेको छ । केन्द्रिय सदस्यहरुलाई ७७ वटै जिल्लामा हुने जिल्ला अधिवेशनमा पर्यवेक्षकको रुपमा खटाउने र जिल्लामा हुने सबै प्रकारका निर्वाचनको प्रक्रिया र नतिजाको अनुगमन गर्ने जिम्मेवारी दिने निर्णय गरिएको छ । महाधिवेशन गर्न बाँकी रहेका पार्टीका भ्रातृ संगठनहरुको महाधिवेशन ०८१ चैत मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिइएको छ । समान विचार भएका व्यक्ति, समूह र दलसंग सहकार्य र मोर्चा निर्माण गर्न राप्रपाले संवाद र सहकार्यको प्रयासलाई निरन्तरता दिने निर्णय गरिएको छ ।’

अध्यक्ष लिङदेनले आगामी निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा कुनैपनि पार्टीसँग नमिलीकन निर्वाचन जितेर देखाउने बताउनु भयो । उहाँले यही कुरा अन्य पार्टीका नेताहरुले पनि प्रतिष्पर्धा गरेर चुनौति दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘म सबै हाम्रो नेता कार्यकर्तालाई भन्न चाहन्छु, झापा जिल्लामा मेरो निर्वाचन क्षेत्रमा म होस्, अर्कोलाई उठाएर होस्, कुनै पार्टीसँग नमिलिकन चुनाव जितेर आगामी चुनावमा आउँछाँै । झापा जिल्लामा त्यो क्षेत्रमा मात्रै होइन, अरु क्षेत्रमा पनि चुनाव जितेर आउँछौँ । कोही निराश हुनु पर्दैन । यही च्यालेन्ज अरु साथीहरुले पनि गर्नुस् । प्रतिष्पर्धा यो कुरामा गरौँ । हामी हाम्रो क्षेत्रमा जितेर देखाइदिन्छौँ भनेर इख गरौँ ।’

राप्रपाले वैदेशिक रोजगार तथा अध्ययनको सिलसिलामा विदेशमा रहेका नेपालीहरुको पासपोर्ट, भिसा नवीकरण लगायतका विभिन्न समस्याहरुको सहज समाधान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । ताप्लेजुङ्गको फुङलिङ्ग नगरपालिका ११ मा अवस्थित पाथीभरा मुकुलुङ्ग क्षेत्रमा केबलकार निर्माण कार्य सञ्चालन गर्ने क्रममा स्थानीय सरोकार व्यक्त गरेका स्थानीयवासीप्रति भएको प्रशासनिक हस्तक्षेपप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पवित्र धार्मिक क्षेत्रलाई शान्त राख संवाद र सहमतिको बाटोबाट अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको छ । —न्युज एजेन्सी नेपाल