सैफ अली खानमाथि ६ पटक चक्कु प्रहार, शल्यक्रिया गरियो

मनोरंजन

बलिउड अभिनेता सैफ अली खानमाथि बिहीबार बिहान करिब २ः ३० बजे मुम्बईको खारमा रहेको उनको घरमा चक्कु प्रहार भएको छ । सैफको घाँटी, ढाड, हात र टाउकोमा चक्कु प्रहार भएको हो।

सैफलाई बिहान ३ः ३० बजे लीलावती अस्पताल ल्याइएको थियो । जहाँ उनको शल्यक्रिया गरिएको थियो । लीलावती अस्पतालका सीओओ डा.नीरज उत्तमानी सैफलाई ६ पटक छुरा प्रहार गरिएको बताएका छन्। तीमध्ये दुईवटा घाउ गहिरो छन् ।

घटनाको समयमा सैफकी पत्नी करिना कपुर र उनका छोराहरू तैमूर र जेह पनि घरमै थिए। सैफले आक्रमणकारीलाई रोक्ने प्रयास गर्दा छ पटक चक्कु प्रहारबाट घाइते भएका छन्, जसमा घाँटी, ढाड, हात र टाउकोमा चोट लागेको छ।

सैफको टोलीको आधिकारिक बयानमा उनको घरमा चोरीको प्रयास गरिएको भनिएको छ । आक्रमणमा सैफको घरकी एक कामदार पनि घाइते भएकी छन् । यता प्रहरीका डीसीपी दीक्षित गेडामले सैफको फर्च्युन हाइट्स खार स्थित घरमा राति एक व्यक्ति सैफको घरमा पसे र उनको कामदारसँग झगडा गरे । जब अभिनेताले ती व्यक्तिलाई रोक्ने प्रयास गरे, उनले सैफलाई आक्रमण गरे र उनी घाइते भए।

मिडिया रिपोर्टका अनुसार मुम्बई पुलिसले सैफको घरबाट तीन जनालाई सोधपुछका लागि पुलिस स्टेसन लगेको छ। यसैबिच मुम्बई क्राइम ब्रान्चको टोली पनि यस विषयमा अनुसन्धान गर्न सैफको घर पुगेको छ ।

यस घटनाले बलिउडमा ठूलो चासो र चिन्ता उत्पन्न गरेको छ, र प्रशंसकहरूले सैफको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।