नेपाली संगीतको प्रतिष्ठित कन्दरा ब्याण्डले दुबई र अबुधाबीमा जनवरी ११ र १२ तारिखका लागि तय भएको आफ्नो सांगीतिक कार्यक्रम स्थगित गरेको घोषणा गरेको छ। एफ सेभेन इन्टरनेशनल (F7 International) को आयोजनमा हुने भनिएका कार्यक्रमहरू तोकिएको मितिमा आयोजना गर्न नसकिने जानकारी ब्याण्डले दिएको हो।
कन्दरा ब्याण्डले दर्शक र शुभचिन्तकहरूप्रति परेको असुविधाका लागि गहिरो क्षमायाचनासमेत व्यक्त गरेको छ। ब्याण्डले आफ्नो ३२ वर्षे सांगीतिक यात्राको गौरवलाई नेपाली संगीतप्रेमीहरूबीच उत्सवको रूपमा मनाउन विश्व भ्रमण गर्ने योजना बनाएको थियो। यस घोषणापछि विश्वभरका नेपालीहरूले ब्याण्डलाई आफ्नो क्षेत्रमा निम्त्याउन चासो देखाएका थिए।
कन्दरा ब्याण्डले आफ्नो कार्यक्रमको स्तर र विश्वसनीयतामा कुनै सम्झौता नगर्ने नीति अनुरूप कार्यक्रम स्थगित गरिएको स्पष्ट पारेको छ। आयोजक पक्षले कार्यक्रम नजिकिंदै गर्दा आवश्यक तयारीमा आश्वस्त गर्न नसकेका कारण कार्यक्रम स्थगित गरिएको हो।
स्थगित कार्यक्रमको सट्टामा कन्दरा ब्याण्डले अब जनवरी १८ तारिखमा दुबईको बुर दुबईस्थित क्लब एसके सेभेन (Club SK7) मा सांगीतिक प्रस्तुति दिने घोषणा गरेको छ। यो कार्यक्रम UBOC Hospitality को आयोजनामा हुनेछ।
यसैबीच, कन्दरा ब्याण्डले दोहा, कतारमा तय भएको आफ्नो कार्यक्रम भने पूर्वनिर्धारित मिति र स्थानमै हुनेछ। दोहाको कार्यक्रम जनवरी १७ तारिखमा प्लानेट लञ्ज एण्ड क्लब, भिआइपी होटलमा आयोजना गरिनेछ।
कन्दरा ब्याण्डले नेपाली संगीतको स्तरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याएको छ। ब्याण्डले दर्शकहरूको साथ र समझदारीले आफूहरूलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।
दुबईमा रहेका नेपाली दर्शकहरूले अब जनवरी १८ मा कन्दराको उत्कृष्ट सांगीतिक प्रस्तुति अवलोकन गर्न पाउनेछन्।



