५ महिनामा ६ खर्ब ४० अर्ब रेमिटेन्स भित्रियो

अर्थ समाचार
काठमाडौं : चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ६ खर्ब ४० अर्ब ४३ करोड रेमिटेन्स भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार मंसिर महिनामा मात्रै १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको रेमिटेन्स भित्रिएको छ । जुन कात्तिक महिनाको तुलनामा ४ अर्बले धेरै हो । गत कातिकमा १ खर्ब १४ अर्ब रेमिटेन्स भित्रिएको थियो ।
चालु आवको मंसिरसम्मको विप्रेषण आप्रवाह भने ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो । चालु आवको ५ महिनामा खुद द्वितीय आय ६ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय ६ खर्ब ६९ अर्ब ७७ करोड रहेको थियो ।