काठमाडौं – सरकारले तारे स्तरका होटल तथा रिसोर्टहरूको वर्गीकरण र मापदण्ड संशोधन गर्ने तयारी गरेको छ। पर्यटन विभागले यसका लागि सरोकारवालाहरूसँग राय माग्दै प्रक्रिया अघि बढाएको छ।
हाल नेपालमा तारे स्तरका होटल, रिसोर्ट, लज, मोटेल, र बेड एन्ड ब्रेकफास्ट (बीएन्डबी) हरू २०७६ सालको मापदण्ड अनुसार वर्गीकृत हुँदै आएका छन्। विभागले समसामयिक आवश्यकतालाई ध्यानमा राख्दै नयाँ मापदण्ड लागू गर्न प्रस्ताव गरेको हो।
प्रस्तावित मापदण्डका प्रमुख बुँदाहरू
सेवा र व्यवस्थापन
– होटलहरूले आन्तरिक र बाह्य उडानको टिकट व्यवस्था गर्न ट्राभल डेस्क राख्नुपर्नेछ।
– फोन कल ३ घन्टाभित्र उठाउनुपर्ने प्रावधान लागू हुनेछ।
– नगद, अनलाइन, र क्रेडिट कार्डमार्फत भुक्तानी गर्न सकिने सुविधा अनिवार्य गरिनेछ।
कानुनी दस्तावेज प्रदर्शन
– कम्पनी दर्ता, उद्योग दर्ता, सञ्चालन अनुमति, र तारा वर्गीकरण प्रमाणपत्र होटलको रिसेप्सन क्षेत्रमा प्रष्ट रूपमा देखिने गरी राख्नुपर्नेछ।
भौतिक संरचना र वातावरण
– होटल बलियो भूधरातलमा बनेको हुनुपर्नेछ।
– खुला र आकर्षक प्रवेशद्वार तथा मौसमी फूलका बगैँचाहरू अनिवार्य हुनेछन्।
– होटल परिसर पूर्ण रूपमा धुलो र धुँवामुक्त राख्नुपर्नेछ।
उच्च स्तरका होटलका थप प्रावधान
३ तारे वा सोभन्दा माथिल्लो होटलले २४ घन्टा रुम सर्भिस दिनुपर्नेछ। त्यस्तै, ४ तारेदेखि माथिल्लो होटलसँग कम्तिमा दुईवटा आफ्नै सवारी साधन अनिवार्य गरिनेछ।
प्रत्येक कोठामा ग्राहकको बहुमूल्य वस्तु राख्न लकर राख्नुपर्ने प्रावधान पनि लागू हुनेछ।
लबीको क्षमता
नयाँ मापदण्डले होटलको तारा स्तरअनुसार लबीको क्षमतासमेत तोकेको छ। १ तारे होटलको लबीमा १० जना, ५ तारे होटलको लबीमा ६० जना र ५ तारे डिलक्स होटलको लबीमा ८० जनासम्म अट्न सक्ने व्यवस्था गर्नुपर्नेछ।
नयाँ मापदण्डले नेपालका तारे स्तरका होटलहरूको सेवा गुणस्तर बढाउन योगदान गर्ने सरकारको विश्वास छ। सरोकारवालाहरूको रायका आधारमा अन्तिम निर्णय गरिने पर्यटन विभागले जनाएको छ।




