रवि लामिछानेको तस्विर सामाजिक सञ्जालमा हाल्नेलाई कास्की प्रहरीले कारबाही गर्ने

समाचार

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्वीर सार्वजनिक गर्ने व्यक्तिलाई कानुनअनुसार कारबाही गरिने भएको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले जारी गरेको विज्ञप्तिमा साइबर अपराधसम्बन्धी कानुनी प्रावधानको उल्लङ्घन गर्दै अनधिकृत रूपमा सामग्री प्रकाशन र सम्प्रेषण गर्ने कार्यमा संलग्न जो कोहीमाथि कानुनी कारबाही गरिने जानकारी दिएको छ।

प्रहरीले लामिछानेको तस्वीर सार्वजनिक भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै फौजदारी न्याय प्रणालीका मूल्य र मान्यता अनुरूप तथ्य र प्रमाणमा आधारित अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

कास्की प्रहरीले लामिछानेको तस्वीर डा. निकोलस भुसालको फेसबुक पेजमार्फत सार्वजनिक भएको उल्लेख गरेको छ। साथै, गोपनीयता कायम राख्नुपर्ने विषयमा संवेदनशील रहँदै सूचना तथा समाचार सम्प्रेषण गर्दा अनुसन्धानमा सहयोग पुर्‍याउन सबैलाई आग्रह गरेको छ।