काठमाडौं । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् ।
भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
चन्दले बिहीबार राति साढे ९ बजेतिर प्रहरी चौकीमै आफैंमाथि गोली प्रहार गरेको पाइएको डीएसपी भण्डारीले पुष्टि गरे । चन्दको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
चन्दले गोली प्रहार गर्नुको कारण नखुलेको बताउँदै डीएसपी भण्डारीले छानबिन समितिले अध्ययन गरेपछि धेरै कुरा खुल्ने बताए ।
