सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ थियो।
यस अघी सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएको छ। सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ । यस्तै, चाँदीमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ।
भारत र नेपालको सुनको भन्सार महसुलमा ठूलो अन्तर देखिएपछि सरकारले महसुल समायोजन गर्न बाध्य भएको व्यवसायीहरु बताउँछन् ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा सुनको आयातमा उल्लेख्य गिरावट आएपछि सरकारले भन्सार महसुल दर घटाउने निर्णय गरेको हो। सरकारको यो निर्णगले अब सुनको भाउ घट्ने अनुमान गरिएको छ ।
नेपालले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १ अर्ब ४२ करोडको १३२ दशमलव ५६ किलो सुन आयात गरेको भन्सार विभागले जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब २० करोड रुपैयाँ बराबरको १ हजार केजी ५०० ग्राम सुन आयात भएको थियो ।
गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री वर्षमान पुनले आर्थिक ऐन मार्फत सुनको भन्सारदर २० प्रतिशत पु¥याएका थिए ।
