कोशी ब्यारेजमा पानीको बहाब अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको छ । लगातारको वर्षापछि सप्तकोशीमा पानीको बहाव खतराको तह पार गरेपछि कोशी ब्यारेजको पुलमा आवत–जावतमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार दिउँसो ४ बजेबाट लागू हुने गरी ब्यारेजको पुलमा आवत–जावतमा रोक लगाइएको हो।
विगत तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण कोशी ब्यारेजमा पानीको सतह अत्याधिक बढेर खतराको संकेतसमेत पार गरेका कारण अर्को सूचना जारी नभएसम्मका लागि ब्यारेजको पुलबाट मानिससमेत जान नपाउने गरी आवतजावत बन्द गरेको हो। सुरक्षाका कारण ब्यारेजमा रहेको पुलबाट आवत–जावत बन्द गरेका कारण अत्यावश्यक काम परे वैकल्पिक मार्ग प्रयोग गर्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
शनिबार अपरान्ह चार बजे कोशीमा ५ लाख ४९ हजार क्युसेक बाढी मापन भएको छ।



