हिजबुल्लाह प्रमुख नसरल्लाहको मृत्यु, ईरानका सर्वोच्च नेता खामेनेईलाई सुरक्षित स्थानमा सारियो

अन्तराष्ट्रिय

इजरायली आक्रमणमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्यु भएपछि, ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईलाई देशभित्रै थप सुरक्षा उपायसहित एक “सुरक्षित स्थान” मा सारिएको छ। समाचार एजेन्सी रॉयटर्सले स्रोतलाई उद्धृत गर्दै जानकारी दिएको छ। इजरायली सेनाले शुक्रबार दक्षिण बेरूतमा रहेको हिजबुल्लाहको मुख्यालयमा भएको एक हवाई हमलामा नसरल्लाहको मृत्यु भएको पुष्टि गरेको छ। इजरायली सेनाका अनुसार यो आक्रमण सटीक रूपमा  हिजबुल्लाहको नेतृत्व बैठकलाई लक्षित गरी गरिएको थियो।

हिजबुल्लाहको नेतृत्व तीन दशकभन्दा बढी समय हसन नसरल्लाहले गरेका थिए। इजरायली सेनाले शनिबार X मा पोस्ट गर्दै भनेको छ, “अब हसन नसरल्लाहले विश्वलाई आतंकित गर्न सक्ने छैनन्।” लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारका हवाई आक्रमणमा कम्तिमा छ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन्। यो विस्फोट गत वर्षको तुलनामा बेरूतमा भएको सबैभन्दा ठूलो विस्फोट मानिएको छ। यसले इजरायल र हिजबुल्लाहबीचको तनावलाई पूर्ण युद्धमा परिणत गर्ने संकेत दिएको छ।

इजरायलले शनिबार पनि हिजबुल्लाहमाथि तीव्र हवाई आक्रमण जारी राखेको छ भने हिजबुल्लाहले इजरायलतर्फ दर्जनौं रकेट प्रहार गरेको छ। इजरायली सेनाले पनि थप आरक्षी सैनिक परिचालन गर्ने बताएको छ। आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो संयुक्त राज्य अमेरिका भ्रमणलाई छोट्याउँदै तुरुन्त इजरायल फर्किएका छन्। यसअघि उनले संयुक्त राष्ट्र संघमा सम्बोधन गर्दै इजरायलको हिजबुल्लाहविरुद्धको अभियानलाई निरन्तर जारी राख्ने घोषणा गरेका थिए, जसले अन्तर्राष्ट्रिय स्तरबाट समर्थन गरिएको युद्धविरामको आशालाई झनै कमजोर बनाएको छ।

एजेन्सी सहयोगमा