भारतका खेलकुद राज्यमन्त्रीलाई बस दुर्घटनाको ‘ब्रिफिङ’

समाचार

आफ्नो देशका २७ जना नागरिकको सडक दुर्घटनामा निधन भएपछि नेपालको आकष्मिक भ्रमणमा रहनुभएकी भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई सुरक्षा निकायका अधिकारीले दुर्घटनाबारे जानकारी गराएका छन् ।

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा ब्रिफिङ भएको हो ।  दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी परिचालन भएका तथा घाइतेलाई यथाशक्य चाँडो उद्धार गरेर अस्पताल पुर्‍याइएको गृहमन्त्रीले बताए । उनीहरुको उपचारमा कुनै कमीकमजोरी हुन नदिने व्यवस्था सरकारले मिलाएको जानकारी दिँदै मन्त्री लेखकले दुर्घटनाबाट नेपाल सरकार अति दुःखी भएको बताए । त्यसअघि गृहमन्त्री लेखक र  राज्यमन्त्री खड्सेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे  जानकारी लिएका थिए ।

शिक्षण अस्पतालको सघन उपचार कक्षमा तीन र अन्यको सामान्य वार्डमा उपचार भइरहेको छ । राज्यमन्त्री खड्सेले नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्मका काममा भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गरिन् ।“दुर्घटना मेरा आफन्तको पनि मृत्यु भएको छ ।खड्सेले  भनिन्”  “उद्धारमा खटिने सम्पूर्ण सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलगायत सबैलाई धन्यवाद ।”

शुक्रबार पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।