नेपालीहरुका विभिन्न चाडपर्वमध्ये जनैपूर्णिमा पनि एक हो । जनैपूर्णिमाका दिन हाम्रो समाजमा क्वाटी खाने प्रचलन छ। ‘क्वाटी’ शब्द नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको हो, जस अनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले ‘क्वाति’ वा ‘क्वाटी ’ को अर्थ तातो सुप भन्ने बुझिन्छ। जनै पुर्णिमाको समयमा अधिकांसको घरमा गेडागुडीको परिकार क्वाटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यस्लाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछी मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार (झोल) हो। विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाटी खाने गरिन्छ । शक्ति र स्वाद दुवै मिल्ने भएकाले पनि क्वाटीको विशेषता छ । मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी र बोडीको मिश्रण नै क्वाटी हो । धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाटी खाने चलन छ । क्वाटी जनै पूर्णिमाको विशेषता नै हो ।
नेपाली समाजमा बर्खाको समयमा खेतीकिसानी गर्नेहरूलाई बढी पौष्टिक आहार चाहिने पानीमा भिजेर काम गरिरहँदा चिसो पनि लाग्न सक्ने भएकाले क्वाटीको विशेष महत्व रहेको छ ।
विहान बाह्रमणले जपेको डोरो हातमा बाँध्ने, दिदिबहिनीले आफ्ना दाजुभाईलाई हातमा राखी बाध्ने र बेलुका नौ प्रकारका गेडागुडी मिश्रित क्वाटी खाने हिन्दु मान्यता छ । खासगरी नेवार समुदायमा क्वाटी खाने प्रचलन बढी छ । नेपाल कृषिप्रधान मूलुक भएकाले वर्षायाममा खेतीपातीको कामले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाटी खाने गरिएको हो ।

स्वास्थ्यमा क्वाटीका अद्भूत फाइदाहरु ।
• क्वाटीले कब्जियतको समस्या हटाउँछ ।
• क्वाटीले मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ ।
•क्वाटीले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
• क्वाटीले तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
• क्क्वाटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
• क्वाटीले रोग प्रतिरोधात्मक शक्ति बढाउछ ।
• टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ।
•गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।
क्वाटीलाई ज्वानोमा झानेर वा पकाएर खाने गरिन्छ । यो स्वादिलो परिकार पनि हो । तर, यसबाट प्रोटिन मिल्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन ।
क्वाटी नियन्त्रित मात्रामा खानुपर्छ । किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ, युरिक एसिड बढ्ने भय हुन्छ । यसको भार मिर्गौंलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाटील सेवन गर्दा त्यसले मिर्गौलालाई असर गर्छ ।
क्वाटी पकाउन चाहिने सामाग्रीहरु : भिजाएको क्वाटी , प्याज, गोलभेडा, ज्वानो, नुन, बेसार, जिरा र धनीयाको धुलो, तेल वा घिउ, तेजपात, खुर्सानी, पिसेको अदुवा र लसून, ल्वाङ सुकमेलको धुलो, हरियो धनीया
क्वाटी पकाउने तरिका : क्वाटी बनाउनको भाडा( प्रेसर कुकुर) ताति सकेपछि घिउ अथवा तेल राखेर ज्वानोलाई फुराउनुहोस् अनी तेजपात र काटेको प्याज राख्नुहोस् । प्याज रातो भएपछी पिसेको अदुवा लसुन पनि राखेर एकैछिन भुट्नुहोला र भिजाएको क्वाटी पनि राखी राम्रोसँग चलाई एकैछिन भुट्नुहोस् । एकैछिन भुटेपछी बेसार, जिरा र धनीयाको धुलो, खुर्सानी, ल्वाङ सुकमेलको धुलो, नुन राखी एकछिन नचलाउनुहोला र गोलभेडा पनि राखी एकछिन भुट्नुहोला र आफुलाई कती झोल खान मन लाग्छ सोही अनुसार पानी राखेर बिर्को लगाइ ३–४ सिठ्ठी लगाउनुहोला । ३–४ सिठ्ठीपछी बिर्को खोली माथिबाट हरियो धनीया रखी सजानुहोस् र तपाईंको मिठ्ठो क्वाटी खानको लागि तयार भयो ।
