सौरमास अनुसारको साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ। विशेषगरी महिला भक्तजनले आजको दिन व्रत बसी भगवान शिवको पूजा आराधना गर्दै साउने सोमबारको व्रत समापन गरेका छन्।
पशुपतिनाथ मन्दिरमा बिहान सवा तीन बजेदेखि नै दर्शनका लागि चारै ढोका खोलिए पनि लाखौँ भक्तजनको भारी भीड लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। सुन्दरीजलबाट शुद्ध जल लिएर आउने बोल बम यात्रीहरूको पनि पशुपतिनाथमा ठूलो उपस्थिति रहेको छ।
साउन महिनालाई भगवान शिवको महिना मानिन्छ। साउनको सोमबारमा भगवान शिवको दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण यस अवधिमा शिवालयमा भक्तजनको घुइँचो लाग्ने गर्छ। आजको दिन विशेषगरी महिलाहरूले गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गर्छन्। धार्मिक मान्यता अनुसार साउनको सोमबार व्रत बसेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने विश्वास गरिन्छ।
पशुपतिनाथका साथै राजधानीका अन्य शिवालयहरू जस्तै गोकर्णेश्वर महादेव मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको सन्तानेश्वर महादेवलगायतका मन्दिरहरूमा पनि भक्तजनको घुइँचो लागेको छ। यसैगरी देशका विभिन्न भागमा रहेका शिवालयहरूमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।



