शेख हसिनाको अन्तिम गन्तब्य अझै अन्योलमा

अन्तराष्ट्रिय

बंगलादेशबाट शेख हसिनाको बहिर्गमनपछि उनको भविष्य अनिश्चित एवं गन्तब्य रहस्यमय देखिएको छ । प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत पुगेकी हसिनालाई भारतले लामो समयसम्म आश्रय दिने सम्भावना कम छ । भारतीय विदेशमन्त्री एस जयशंकरले यसको संकेत दिइसकेका छन् । हसिनाका छोराले उनले कुनै पनि देशबाट राजनीतिक आश्रय नमागेको दाबी गरे पनि उनको अन्तिम गन्तव्य अझै अन्योलमा छ ।

पश्चिमा मुलुकहरूले उनको शासनकालमा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । यसले गर्दा उनीहरूले हसिनालाई राजनीतिक आश्रय दिन हिच्किचाहट देखाउने सम्भावना छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतले बंगलादेशमा भएका घटनाहरूको छानबिन गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दा हसिनाको स्थिति अझै जटिल बन्न सक्छ । यद्यपि उनका परिवारका सदस्यहरू अमेरिका र बेलायतमा छन्, तर यसले उनलाई सुरक्षित राख्ने ग्यारेन्टी गर्दैन । केहीले साउदी अरबलाई हसिनाको सम्भावित आश्रयस्थलको रूपमा औंल्याएका छन् । तर हसिना आफैंले आफ्नो योजनाबारे केही खुलाएकी छैनन् ।

इतिहास पल्टाएर हेर्ने हो भने शासन छोडेर भाग्ने नेताहरूको जीवन प्रायजसो जोखिमपूर्ण नै रहेको देखिन्छ ।