वर्षका बाह्र महिनाहरुमध्ये श्रावण पनि एक हो। हिन्दुधर्म दर्शनले श्रावण महिनालाई अत्यन्त महिमायुक्त मानेको छ। किनकि यस महिनाका सवै दिनहरु व्रतयुक्त छन् , व्रतरहित छैनन्। श्रावण महिना शिवको अत्यन्त प्रिय महिना हो। यस महिनाको महात्म्य सुन्न योग्य छ। अकोर्कुरा यसै महिनामा नै श्रवण नक्षत्रयुक्त पूणिर्मा पर्ने हुनाले महिनाको नाम नै श्रावण रहन गएको हो भन्ने भनाईसमेत रहेको छ। श्रावणको महात्म्य आकाशझैँ निर्मल हुनाले यसलाई नभ भनिने युक्तिसमेत मिल्दछ। यस महिनाको महात्म्य सुन्नाले मात्र पनि सिद्धि प्राप्त हुन्छ भन्ने विश्वास लिइन्छ।
सनातन हिन्दू धर्मावलम्बीहरूका लागि श्रावण महिना भगवान शिवलाई समर्पित विशेष महिना हो। यो महिनालाई भगवान शिवको पूजा, आराधना र उपासना गर्ने अत्यन्त पवित्र समय मानिन्छ। श्रावण महिनाभर शिव भक्तहरू विभिन्न प्रकारका व्रत, उपवास र साधनाहरू गर्छन्। आइतवारहरुमा सूर्यव्रत, सोमवारहरुमा शिवव्रत , यसैगरी हरेक मङगलवार मङगलागौरी व्रत, हरेक बुधवार बुधव्रत , गुरुवारमा गुरुव्रत , हरेक शुक्रवार जीवन्तिका देवी व्रत, हरेक शनिवार हनुमान, शनि र नृसिंह व्रत बस्ने गरिन्छ ।
श्रावण महिनामा पर्ने सोमबारका दिनलाई विशेष महत्व दिइन्छ। यस दिन शिवको व्रत बस्ने चलन धेरै पुरानो हो। श्रावण सोमबारको व्रत बसेर भगवान शिवलाई प्रसन्न पार्न सकिने विश्वास गरिन्छ। वेद तथा पुराणमा उल्लेख भएअनुसार श्रावण महिना सफलता, विवाह र सम्पन्नताको लागि शिवको व्रत बस्ने महिना हो। शिवलाई तन्त्रको भगवान पनि भनिने हुँदा कतिपय शिव भक्त तन्त्र मन्त्र सहित व्रत बस्ने गर्छन्। नाग पञ्चमी, गुरु पूर्णिमा, बोल बम , जनैपूर्णिमा, गाईजात्रा मधुश्रावणी तथा गोरखकाली पूजा लगायतका शुभ दिन तथा चाड पनि यसै महिनामा पर्दछन्। यो महिना शिवले आफ्नो गल्तिको पश्चाताप गर्ने भक्तलाई वरदान दिने, सफलताको लागि आशिर्वाद माग्न सकिने र नकारात्मक शक्तिबाट बच्न सकिने महिना हो।
श्रावणका दिनहरु पूजा आजा, जप तप, ध्यान दान, यज्ञ यागादि अनुष्ठानका निंति अति प्रसिद्ध छन्। हाम्रा शास्त्र अनुसार यस महिनाका कुनै पनि तिथि वारका व्रतहरु किन नहोउन् कुनै एकमात्र पनि कसैले लिन्छ भने त्यो मेरो परमप्रिय हो भनी भगवान शिवले स्वयम् बताउनुभएको छ।
श्रावण महिना धार्मिक कार्यहरू गर्नका लागि उत्तम महिना मानिन्छ । हरिशयनी एकादशीदेखि सुरु भई हरिबोधिनी एकादशीमा समाप्त हुने चतुर्मासको पहिलो महिना र शिवोपासनाको महिना भएकाले यसको महत्व बढेको हो । पुराण र धर्मशास्त्रमा बताएजस्तै सबै नियम पालन गर्न नसकिए पनि कम्तीमा श्रावण महिनाभरि शुद्ध आहार गर्ने र सोमबार शिवजीको उपासना एवं व्रत गर्ने परम्परा आम सनातनीहरूमा रहेकै छ । गङ्गास्नान गरी शिवजीलाई गङ्गाजल चढाउने बोलबमको परम्परा पनि धेरैजसो श्रद्धालुहरूले गर्दै आएका छन् ।



