पाँच वटा नक्कली कम्पनी खडा गरी ३२ सय केजी सुन तस्करी

समाचार

नेपाल प्रहरीले पाँच वटा नक्कली कम्पनी खडा गरेर करिव ३२ सय केजी सुन तस्करी भएको बताएको छ ।काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले ५ वटा नक्कली कम्पनी खडा गरेर करिव ३२ सय केजी सुन तस्करी गरेको पत्ता लागेको बताएको हो । केन्द्रिय अनुसन्धान ब्युरोले भुजेल इलेक्ट्रिक सप्लायर्स, ह्वाडा इलेक्ट्रिक सप्लायर्स, चुंगाक इलेक्ट्रिक सप्लायर्स, दोलखा इलेक्ट्रिक सप्लायर्स र रेडि ट्रेडबाट ३ हजार १ सय ९४ किलो सुन तस्करी गरेको सीआईबीको दाबी छ । सुन तस्करी गर्नकै लागि यि पाँचवटा कम्पनी खोलिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ ।

सीआईबीले यस प्रकरणमा थप २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४ भारतीय र २ जना चिनियाँ नागरिक समेत रहेका छन् । अवैध सुन कारोबारमा प्रत्यक्ष संलग्न १२ जनालाई २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख ९ हजार तीन सय ८ रुपैयाँ बिगो मागदाबी गरेर सीआईबीले मुद्दा प्रक्रिया अघि बढाएको छ ।

आरोपीलाई भन्सार, संगठित अपराध, मुलुकी अपराध संहीता लगायतका मुद्दामा कारवाही गर्न प्रहरीले सिफारिस गरेको हो । पाँच  कम्पनीमार्फत कुल २ हजार ८ सय ३१ दशमलब ८९ केजी सुन र कुल परिणाम २७ अर्ब ३२ करोड २० लाख ७४ हजार ७ सय २० रुपैयाँ हुन जाने प्रहरीको भनाइ छ । तस्करीको सुनको मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । ठूलो परिमाणमा सुन तस्करी भए पनि त्यो सुन कहाँ छ भन्नेबारे भने अनुसन्धान नै भइरहेको प्रहरीको भनाइ छ ।अवैध सुनको भुक्तानी प्रक्रियामा नेपालका दुईवटा पेमेन्ट गेटवे पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिसपनि सग्लन रहेको पाइएको छ ।