प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट लागु हुनेगरी अन्त्य भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सुरुमै उठेर विपक्षी दलका सांसदले विरोध जनाएकाले आजको कार्यसूचीमा रहेका विषय सभामुखले हटाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले यस अधिवेशनमा भएका कामको विवरण संसद्लाई जानकारी गराएर राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सुनाएर आज रातिबाट लागुहुने गरी संसद् अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएको थियो । सोही कारण शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आज रातिदेखि लागु हुने गरी अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने निर्णय गरेको थियो ।
