मृतकका आफन्तले पाए झन्डै रु दुई करोडकाे क्षतिपूर्ति

समाचार

स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै रु दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि पुससम्म आप्रवासी स्रोत उपकेन्द्रमा नौ मृतकका आफन्तले क्षतिपूर्तिको सहजीकरणका लागि निवेदन दिएकामा प्रक्रिया पूरा गरी नौजनाकै समस्या समाधान गरिएको तथा मृतकका आफन्तलाई रु एक करोड ७३ लाख छ हजार क्षतिपूर्तिबापत रकम उपलब्ध गराइएको हो । त्यस्तैगरी, ठगीसम्बन्धी तीन समस्यामध्ये एउटा समाधान गरी रु सात लाख फिर्ता गराइएको होभने दुईजनाको प्रक्रियामा रहेको छ ।

पासपोर्ट होल्ड, भिसा चेक, परिवार तथा कामदार बिरामीजस्ता विभिन्न समस्यामा परेका १९ उजुरीमध्ये आप्रवासी स्रोत उपकेन्द्रमार्फत प्रक्रिया थाली पाँचवटा समाधान भएको तथा पाँचवटा समस्याको समाधान गर्दा रु दुई लाख पाँच हजार आर्थिक सहायता उपलब्ध गराइएको हो । बाँकी १४ वटा समस्या समाधानका लागि प्रक्रियामा रहेका छन् ।

इलाका प्रशासन कार्यालय वालिङमा राहदानीका लागि आएका व्यक्तिले साउनदेखि पुससम्म सुरक्षित आप्रवासन कार्यक्रम (सामी) बाट तीन हजार ५० जनाले परामर्श लिएका हुन् । सामी कार्यक्रममार्फत मुख्यगरी सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा काम गर्दै आइरहेको आप्रवासी स्रोत उपकेन्द्रले जनाएको छ ।

आप्रवासी स्रोत केन्द्रमा परामर्श लिनेमा छ महिनामा पुरुष एक हजार छ सय २२ र महिला एक हजार चार सय २८ रहेका तथा सबैभन्दा धेरै वालिङ नगरपालिकाका व्यक्तिहरुलाई परामर्श दिइएको छ । वालिङका कूल नौ सय ८६ जनाले परामर्श लिएका छन् ।

यसैगरी, गल्याङ नगरपालिकाका छ सय २८, चापाकोट नगरपालिकाका पाँच सय २७, कालीगण्डकी गाउँपालिकाका चार सय ३६, हरिनास गाउँपालिकाका एक सय ६२, भिरकोट नगरपालिकाका एक सय ६१, बिरुवा गाउँपालिकाका एक सय ४५, आँधीखोला गाउँपालिकाका दुई, पुतलीबजार नगरपालिका तथा फेदीखोला गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाका एक–एक जनालाई स्रोतकेन्द्रमार्फत परामर्श दिइएको हो ।

नेपाल सरकार र स्विटजरल्यान्ड सरकारबीच द्विपक्षीय सम्झौता भई सामी कार्यक्रम सञ्चालनमा रहेको छ । वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र तिनका परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मुलुकमा मर्यादित कार्य वातावरणबाट लाभान्वित हुने लक्ष्य यस कार्यक्रमले राखेको स्रोत उपकेन्द्रले जनाएको छ ।