पर्सामा बैशाख १६ गतेबाट एक हप्ता निशेधाज्ञा

विविध

२४ घण्टा नपुग्दै पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि पर्सामा बैशाख १६ गतेबाट हप्ता निशेधाज्ञा लगाउने निर्णय भएको छ। मंगलबार बसेको जिल्ला संकट कोभिड १९ व्यवस्थापन केन्द्र (डिसिएमसी) ले एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

बैठकले निषेधाज्ञासहित बिभिन्न १० वटा निर्णय गरेको छ। वीरगन्ज क्षेत्रमा नयाँ भेरियण्टकोे कोभिड संक्रमण ग्राफ ह्वात्तै बढ्न थालेपछि निशेधाज्ञा जारीगर्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए। १६ गते बिहान ४ बजेदेखि बैशाख २२ गते राती १२ बजेसम्म लागू हुनेगरी निशेधाज्ञा लगाउने निर्णय बैठकले गरेको छ।

निशेधाज्ञाको समयमा औषधि उपचार एवं अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन र हिँडडुल गर्न पाइने छैन। त्यसैगरी सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, आदि सञ्चालन गर्न पाइने छैन।

विवाह, ब्रतबन्ध जस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालय, पर्साबाट अनुमति लिएर मात्र गर्न पाईने छ।

मुलुकको प्रमुख भन्सार नाका रहेको वीरगन्जमा मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोर मैला व्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दाना लगायत ढुवानीका सवारी साधनहरु, आईसोलेशन एवं होल्डिङ्ग सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति लिएर मात्र चलाउन पाइने छ। पास लिएका सवारी साधनहरु बाहेक अन्य सबै प्रकारका नीजि तथा सार्वजनिक यातायातका सवारी साधनहरु (दुई पाङ्ग्रे समेत) सञ्चालन गर्न नपाइने डिसिएमसीको बैठकले निर्णय गरेको छ।

यस्तै बैठकले खाद्यवस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय बाहेक अन्य सबै पसल, व्यवसाय पनि सञ्चालन गर्न प्रतिबन्ध लगाउने निर्णय गरिएको छ। खाद्य वस्तुका पसल, व्यवसायहरु विहान १० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी/गराई खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

इनर्वा बाहेकका सबै नाका बन्द 

डिसिएमसीको बैठकले वीरगन्जको इनर्वा नाका बाहेक भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमन पूर्णरुपमा रोक लगाउने निर्णय गरेको छ। जिल्लाको इनर्वा सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्‍याई स्थानीय तहले तोकेको आइसोलेसन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नुपर्ने पनि निर्णयमा भनिएको छ।

डिसिएमसीको निर्णयलाई अटेर गरे संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) ले दिएको अधिकार प्रयोग गरी कारबाही गरिने पनि प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।