नेपाली इञ्जिनियरहरुको टिम इलेक्ट्रिक मोटरसाइकल निर्माण गर्न सफल

विविध

नेपाली इञ्जिनियरहरुको टिम नेपालमै इलेक्ट्रिक मोटरसाइकल निर्माण गर्न सफल भएको छ । त्यो पनि विदेशी उत्पादनहरुसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता र विशेषताले भरिपूर्ण मोटरसाइकल निर्माण गरी त्यसको भव्य लञ्च समेत गरिएको छ । नेपालमै निर्माण गरिएको त्यस्तो मोटरसाइकल यात्रीको बिहीबार एक भव्य समारोहका बीच लञ्च भएको छ । नेपालमै पहिलोपटक नेपालीहरुले डिजाइन तथा निर्माण गरेको मोटरसाइकल लञ्च भएको हो । कम्पनीले यात्री मोटरसाइकलको पहिलो परियोजना ‘प्रोजेक्ट जीरो’लाई घरेलु बजारमा सार्वजनिक गरिएको छ ।दुई वर्षसम्म निरन्तर काम गरी कम्पनीले यो मोटरसाइकललाई बजारमा उतार्ने सफलता पाएको हो ।

‘प्रोजेक्ट जीरो’ एक प्रिमियम इलेक्ट्रिक मोटरसाइकल हो । जुन सहरी वातावरणमा इलेक्ट्रिक पावरट्रेनका फाइदाहरु प्रदर्शन गर्न डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ ।‘प्रोजेक्ट जीरो’ साठीको दशकको ‘क्याफे रेसर’ डिजाइनबाट प्रभावित रहेको छ । शहरी क्षेत्र र आधुनिक कनेक्टिभिटीका लागि डिजाइन गरेर निर्माण गरिएको ‘यात्री’ पावरफूल र बोल्ड रहेको कम्पनीको दाबी छ ।

यो मोटरसाइकलले एकपटकको फूलचार्जमा २३० किलोमिटरसम्मको यात्रा गर्न सक्छ । यसमा ३० किलोवाट ब्याट्री क्षमता रहेको र यसले ४० हर्सपावर बराबरको काम गर्ने बताइएको छ ।कम्पनीले नेपालको विभिन्न क्षेत्रमा पुगेर सवारी साधन र सडकको अवस्थाको विषयमा अनुसन्धान गरी नेपाली सडक सुहाउँदो डिजाइन बजारमा उतारिएको दाबी गरेको छ ।

मोटरसाइकलको स्पेयर्स पार्टसको डिजाइन समेत नेपालमै तयार गरिएको पाण्डे दाबी गर्छन् । डिजाइन गरिएका स्पेयर्स पार्टस निर्माणका लागि अमेरिका, चाइना, भारत र अन्य यूरोपेली मुलुकका कम्पनीसँग सहकार्य गर्ने कम्पनीले जनाएको छ ।