मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

विविध

राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग बागलुङ खण्ड पटक–पटक अवरुद्ध हुन थालेको छ । अविरल वर्षाको कारण लोकमार्गमा सडकमाथिबाट पहिरो खस्दा तीन दिन यता लोकमार्ग दैनिक जसो अवरुद्ध हुन थालेको हो । निरन्तर पानी परेको हुँदा बिहीबार साँझ गलकोट नगरपालिका–११ रिघाको काउचेमा खसेको पहिरोले पुनः सडक अवरुद्ध भएको छ । काउले अर्ले घुम्तीमा खसेको पहिरोले लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिनुभयो । पहिरो पन्छाउन स्काभेटर नहुँदा समस्या भएको उहाँले बताउनुभयो ।

‘सकडमाथिबाट करिव दश मिटर वारपार पहिरो झरेको छ’ उहाँले भन्नुभयो–‘ स्काभेटर खोजी गरेर शुक्रबार मात्रा पहिरो पन्छाउने छौँ ।’ लोकमार्ग अवरुद्ध भए पछि बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका तथा निसीखोला गाउँपालिकाबाट छुट्ने र भित्र्ने लामो तथा छोटो दुरीका सवारी अलपत्र परेका छन् । लोकमार्ग बिहीबार नै गलकोट नगरपालिका ७ र ९ को सिमानामा पर्ने अम्रिसेमा पनि अवरुद्ध भएको थियो । सो स्थानमा दैनिक सडक बन्द हुने गरेको नगरपालिकाका प्रशासकीय अधिकृत तुलबहादुर विकले जानकारी दिनुभयो । यस अघि बडिगाड गाउँपालिका–२ राक्सेमा पहिरो जाँदा लोकमार्ग अवरुद्ध भएको थियो ।

दुई दिनदेखिको वर्षाको रिघामा पाँच वटा घर पहिरोको जोखिमा परेका छन । वडाध्यक्ष श्रीसका अनुसार रिघा गोठलाँङका अमरबहादुर श्रीस, किम्लेका चिन्तामणी विक, मुलाबारीका टेकबहादुर श्रीस, टुटुङका भुवानी संकर थापा, चमरेका चन्द्रबहादुर नेपालीको घर उच्च जोखिममा परेका हुन् । एकहजार ७७६ किलोमिटर लामो पुष्पलाल मध्ये पहाडी लोकमार्गको सबै भन्दा बढीं १ सय ३७ किलोमिटर सडक खण्ड बागलुङमा पर्छ ।